काठमाडौं, १८ वैशाख । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले तेस्रो वरीयतामा रहेका डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बनाउनुभयो । १ फागुन २०७३ मा बसेको मन्त्रिपरिषद् बैठकले दुई वरिष्ठ डीआईजीहरूलाई पाँखा लगाउँदै चन्दलाई आईजीपीमा नियुक्त गरेको थियो । पहिलो नम्बरमा थिए, डीआईजी नवराज सिलवाल । त्यस्तै दोस्रो नम्बरमा थिए, प्रकाश अर्याल ।
तर, देउवाले तेस्रो नम्बरमा रहेका चन्दलाई आईजीपी बनाईदिए । सरकारको निर्णयविरूद्ध डीआईजी सिलवाल अदालत गए । सर्वोच्च अदालतमा उनले आफूलाई आईजीपीमा नियुक्त गर्नुपर्ने र चन्दको नियुक्ति खारेजीको माग गरे । सर्वोच्च अदालतले ८ चैत २०७३ मा चन्दको नियुक्ति खारेजी गरिदियो ।
प्रधानन्यायाधीश सुशीला कार्कीसहित न्यायाधीशहरू हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिंन्हा रहेको पूर्ण इजलासले आईजीपी नियुक्तिसम्बन्धी सरकारको निर्णय बदर गर्ने आदेश दियो । सर्वोच्चको आदेशमा भनिएको थियो,‘पहिलो, दोस्रो र चौथो वरीयताक्रमका व्यक्तिका सम्बन्धमा कुनै पनि कुरा उल्लेख नै नगरी (मानौ नेपाल प्रहरीमा एकजना मात्र प्रहरी नायव महानिरीक्षक रहेको जस्तो प्रतीत हुने गरी) जयबहादुर चन्दको नाम मात्र उल्लेख गर्नु आफैंमा पिक एन्ड चुज को अनौठौ नमुना बनेको छ ।
यस प्रकारको स्वेच्छाचारी छनोट गर्न कानुनले अनुमति दिँदैन् ।’ ‘नेपाल प्रहरीका बहालवाला प्रहरी नायव महानिरीक्षकहरूमध्येका योग्यतम् तथा विगत चार आवको कार्यसम्पादन मूल्यांकनमा प्रतिस्पर्धीहरूमध्ये औसत उच्चतम अंक प्राप्त गरेका व्यक्तिलाई प्रहरी महानिरीक्षक पदमा तत्काल नियुक्त गर्नु गराउनु भनी विपक्षीमध्येका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालय समेतका नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ,’ सर्वोच्चको आदेशमा उल्लेख थियो ।
सर्वोच्चको आदेशसँगै चन्द डीआईजीमै घटुवा भए । दोस्रो नम्बरमा रहेका प्रकाश अर्याल आईजीपी बन्नुभयो । पहिलो नम्बरमा रहेका नवराज सिलवाल पुनः सर्वोच्च पुग्नुभयो । सर्वोच्चले सरकारले गरेको निर्णय सदर गरेपछि डीआईजीबाटै राजीनामा दिनुभयो र, एमाले प्रवेश गर्नुभयो । तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले वरीयताक्रम मिच्न नहुने अडान लिनुभएको थियो ।
उहाँको पक्षमा तत्कालीन सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो । तर, देउवा भने जसरी पनि चन्दलाई आईजीपी बनाउने अडानमा रहनुभयो । अन्ततः उहाँले गृह मन्त्रालयको प्रस्ताव लत्याउँदै चन्दलाई आईजीपी बनाउनुभयो । पछि अदालतले उहाँको निर्णय उल्ट्याइदियो । त्यो घटनाबाट देउवाले ठूलै पाठ सिक्नुपर्ने थियो ।
तर, अहिले फेरि त्यही प्रकरणको झझल्को दिनुभएको छ । प्रधानमन्त्री देउवाको ठाडो प्रस्तावमा नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरिएको छ । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले दिएको सिफारिसलाई लत्याउँदै सिंहलाई नियुक्त गर्नुभएको हो । देउवाको ठाडो प्रस्तावका अगाडि मन्त्रिपरिषद्का कुनै सदस्यको केही चलेन । देउवाले सिंहलाई आईजीपी नियुक्त गरेको विषयमा भने गृहमन्त्री बालकृष्ण खाँण असन्तुष्ट देखिनुभएको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार गृहको प्रस्तावलाई अस्वीकार गर्दै देउवाको ठाडो प्रस्ताव मन्त्रिपरिषद्मा पेस भएको हो । गृह मन्त्रालयले पहिलो नम्बरमा एआईजी विश्वराज पोखरेल, दोस्रो नम्बरमा सहकुलबहादुर थापा, तेस्रो नम्बरमा धिरजप्रताप सिंह र चौथो नम्बरमा रवीन्द्र धानुक थिए । तर, देउवाले आफ्नै गृहजिल्लाका सिंहलाई आईजीपी बनाउनुभएको हो ।
गृह मन्त्रालयको उक्त सिफारिस लत्याउँदै देउवाले मन्त्रिपरिषद् बैठकमा सिंहलाई आईजीपी बनाउने निर्णय सुनाउनुभएको थियो । यसअघिको घटनाबाट पाठ नसिकेका देउवाका लागि फेरि अदालती झमेलामा पर्ने देखिएको छ । आईजीपी नियुक्तिमा सिंहभन्दा सिनियर दुई एआईजी असन्तुष्ट देखिएका छन् । उनीहरू अदालत जाने तयारीमा छन् । त्यसका लागि छलफल भइरहेको र सम्भवतः भोलिसम्म सर्वोच्च अदालतमा मुद्दा दायर गरिनेछ ।
त्यसका लागि आवश्यक छलफल तथा तयारी भइरहेको असन्तुष्ट एक एआईजीले बताउनुभयो । यसअघिको घटनाबाट पाठ सिकेर देउवाले आफ्नो मान्छे भन्दा वरीयताक्रमअनुसार पहिलो नम्बरमा रहेकालाई आईजीपी बनाउन सक्नुपर्थ्यो । अदालतले उहाँको निर्णय खारेज गरिदियो भने देउवालाई नैतिक संकट आइलाग्न सक्छ ।













प्रतिक्रिया दिनुहोस्