काठमाडौं, बैशाख १९ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । एआईजीपी पोखरेलले रिटमा बढुवाको निर्णय यथास्थितिमा राख्न र अदालतबाट न्याय निरुपण नभएसम्म आफूलाई कायममुकायम महानिरीक्षकका रुपमा काम गर्न दिनुपर्ने माग दाबी गर्नुभएको छ ।
एआईजीपी पोखरेलका तर्फबाट रिट लिएर सर्वोच्च पुगेकी अधिवक्ता सुनिता राउतले रिटको पेशी बुधबारका लागि तोकिएको बताउनु भयो। रिटमा पोखरेलले जेष्ठता, कार्यसम्पादन मूल्यांकन, शैक्षिक योग्यता, तालिम, पुरस्कार, कमाण्डलगायत सबै आधारमा आफू अगाडि रहेको भन्दै सिंहलाई बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्न माग गरिएको छ ।
पोखरेलले प्रहरी नियमावली २०७१ को नियम ४१ र ३० अनुसार आफूलाई महानिरीक्षकमा बढुवा गर्नुपर्ने माग गर्नुभएको छ । पोखरेलले एआईजीसम्म आइपुग्दा आफूले कुनै विभागीय कारबाही नभोगेको तर महानिरीक्षकमा बढुवा भएका सिंहले पटक–पटक कारबाही भोगेको तथा एआईजीमा बढुवाविरुद्धको मुद्दा अदालतमै विचाराधीन रहेको अवस्थामा बढुवा भएकोमा पनि प्रश्न उठाउनु भएको छ ।
आइतबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले वरिष्ठतामा अगाडि रहेका एआईजीद्वय पोखरेल र सहकुलबहादुर थापालाई पन्छाएर डेढ महिना अघि डीआईजीबाट एआईजी बन्नुभएका सिंहलाई आईजीपीमा बढुवा गरेको थियो । २०७७ मंसिरमा पोखरेल एआईजी बढुवा हुनुभएको थियो । त्यसको ७ महिना पछि थापा २०७८ असार र महानिरीक्षकमा बढुवा भएका सिंह गत चैत ७ मा एआईजी हुनुभएको हो ।
आफूभन्दा कनिष्ठ एआईजीलाई आईजीपीमा बढुवा गरेपछि अदालत जानकै लागि पोखरेल र अर्का एआइजी सहकुल थापाले आइतबार नै बिदा स्वीकृत गराइसक्नु भएको छ । प्रहरी सेवाबाट महानिरीक्षक शैलेश थापा क्षत्रीले अवकास पाउनु अघि नै दुवै एआईजीले घर बिदा स्वीकृत गराउनु भएको हो । पोखरेलले १ महिना र थापाले १० दिनको बिदा स्वीकृत गराउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्