जनता टाइम्स

२० बैशाख २०७९, मंगलवार १५:३६

रत्ननगरमा पहिलो मेयर बनेपछि बिमलाको यस्तो छ सुधारका योजना


रत्ननगर, बैशाख २० । नेकपा एमालेको तर्फबाट रत्ननगर नगरपालिकाको मेयर पदकी उम्मेदवार विमला दुवाडीले महिला स्वास्थ्य, उद्यमशीलता स्वरोजगार तथा न्यायिक मामलामा बाँकी रहेका अधुरा काम आफू मेयर भएपछि पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

रत्ननगरको वडा नम्बर ७ मा भएको एमालेको घरदैलो कार्यक्रमको कोणसभामा बोल्दै दुवाडीले रत्ननगरमा पहिलो पटक महिला मेयर निर्वाचित हुन लागेकोले नगरवासी उत्साहित भएको बताउनुभयो । ‘गर्न सक्ने काम मात्र बोल्छु, नसक्ने काम गर्छु भनेर झुटो आश्वासन दिने काम गर्दिनँ, मेयर भएपछि हरेक ६÷६ महिनामा प्रत्येक वडामै गएर महिलाहरुको निःशुल्क पाठेघर र स्तन क्यान्सरको परीक्षण गर्ने व्यवस्था गर्छु’ दुवाडीले भन्नुभयो, ‘मेयरमा पुरुष हुँदा महिलाको वास्तविक समस्या बुझ्न कठिन हुन्छ, म मेयर भएपछि महिलाका हरेक समस्यालाई विशेष ख्याल गरेर समाधान गर्छु ।’

माओवादी केन्द्रका सचिव एमालेमा
कार्यक्रममा नेकपा माओवादी केन्द्र रत्ननगर वडा नं ११ का वडा कमिटी सचिव ईश्वरीप्रसाद चौलागाई एमालेमा प्रवेश गर्नुभएको छ । विगत १५ वर्षदेखि माओवादी केन्द्रमा रहेर सक्रिय राजनीति गर्नुभएका चौलागाई स्थानीय तहको निर्वाचनको मुखैमा एमालेमा प्रवेश गर्नुभएको हो ।

चौलागाईले माओवादी केन्द्रमा चरम विचलन आएको भन्दै सो पार्टीमा आफ्नो भविष्य नदेखेर जनताको प्रिय पार्टी एमालेमा प्रवेश गरेको बताउनुभयो । ‘१५ वर्ष अघि म एमालेमै थिएँ’ उहाँले भन्नुभयो, ‘पछि रोजेको माओवादीले देश र जनताको हितमा काम गर्ने नदेखेर पुरानै पार्टीमा फर्केको हुँ ।’

कालिकामा एमालेको चुनावी अभियान तीव्र

एमालेको रत्ननगर नगर पार्टी कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रीय उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नगर कमिटी अध्यक्ष ईश्वरी प्रसाद अर्याल, जिल्ला कमिटी सदस्य तथा जिल्ला स्कुल विभाग प्रमुख गोपी नेपाल, रत्ननगर काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष टंक दुवाडीले चौलागाईलाई टीका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो ।

चितवनको कालिका नगरपालिकामा नेकपा एमालेले चुनावी अभियानलाई तीव्र बनाएको छ । सोमबार कालिकाको ११ वटै वडामा घरदैलो र कोणसभाहरु भएका छन् । कार्यक्रममा सयौं कालिकावासीहरु सहभागी थिए । सोही क्रममा सोमबार कालिका–६ को खोलेसिमलमा वडा भेला सम्पन्न भएको थियो । सो कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, एमालेको मेयरका उम्मेदवार विनोद रेग्मी, उप–मेयरका उम्मेदवार विमला लामा एमाले नेता टीकाराज रिजाल लगायतले मन्तव्य राख्नुभएको थियो । सोमबार नै कालिकाको वडा नं ८ को देवीटारमा मेयरका उम्मेदवार रेग्मी, उप–मेयरका उम्मेदवार लामा सहितको घरदैलो कार्यक्रम भएको थियो ।

उम्मेदवारहरुले वडाभित्रका मतदाताहरुलाई घर–घरमै पुगी मतदाताको समस्या बुझ्ने, राय सुझाव लिँदै मत मागेका थिए । सो कार्यक्रममा एमालेका कार्यकर्ताहरुको सहभागिता रहेको थियो । त्यस्तैगरी सोमबार नै कालिका–५ को पदमपुरमा पनि घरदैलो कार्यक्रम तथा कोणसभा गरिएको थियो । सो कार्यक्रममा नेकपा ९एमाले० को मेयरका उम्मेदवार विनोद रेग्मी, उप–मेयरका उम्मेदवार विमला लामा, एमाले नेता जयचन्द्रप्रसाद चौधरी लगायतले मन्तव्य राख्नुभएको थियो ।

रत्ननगर नगरपालिका वडा नं ७ मा मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्यका उम्मेदवार सहित घरदैलो गरिएको छ । मेयर पदकी उम्मेदवार विमला दुवाडी, उपमेयर पदका उम्मेदवार यादव पाठक, वडाध्यक्ष पदका उम्मेदवार सजना महतो सहितका।उम्मेदवारहरुले घरदैलो गरेका हुन् ।

मत माग्न घरमा पुगेका उम्मेदवारहरलाई वडावासीले आशिर्वादसँगै स्वागत गरेका छन् । घरदैलो पछि आयोजित कोण सभामा मेयर पदकी उम्मेदवार विमला दुवाडीले रत्ननगरले महिला नेतृत्व खोजिरहेको भन्दै त्यसका लागि आफूले उम्मेदवार दिएको बताउनुभयो । आफू उपमेयर हुँदा पाँच वर्षको अवधिमा न्याय सम्पादन लगायतका विषयमा जनअपेक्षा अनुसार काम गरेको उहाँको भनाइ छ ।

उपमेयर पदका उम्मेदवार पाठकले एमालेको नेतृत्वबाट मात्र नगरको विकास सम्भव रहेको भन्दै रत्ननगरलाई नमूना नगरको रुपमा विकास गर्ने उद्देश्यका साथ आफूले उम्मेदवारी दिएको बताउनुभयो । घरदैलोमा केन्द्रीय सदस्य कपिलदेव पोखरेल, जिल्ला कमिटी सदस्य विन्दा कार्की, एमाले नेतृ महादेवी खतिवडा, लक्ष्मी पोखरेल लगायका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।