जनता टाइम्स

२० बैशाख २०७९, मंगलवार १६:३२

सुनिता डंगोलविरुद्ध फेक न्यूज, अख्तियारमा परेको उजुरीबारे पढनोस यी तथ्य


काठमाडौं, २० बैशाख । काठमाडौँ महानगरपालिकाका उपमेयर उम्मेदवार सुनीता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको समाचार आज धेरै अनलाइन मिडियाहरुमा आएका छन् । समाचारमा परेको भनिएको उजुरीको फोटो पनि राखिएको छ ।

काठमाडौँ महानगरपालिकामा सल्लाहकार नियुक्त हुन सम्बन्धित विषयमा न्यूनतम स्नातकोत्तर पास गर्नुपर्ने र डंगोलले शैक्षिक योग्यता ढाँटी विगत ५ वर्षदेखि काठमाडौँ महानगरपालिकाको शहरी विकास परियोजनाको सल्लाहकारमा नियुक्ति लिएको र मासिक तलब ८० हजार भएको दावी त्यसमा गरिएको छ । तर यो दावी गलत देखिएको छ।

कुन मिडियामा कस्तो समाचार ?
देशसञ्चार : काठमाडौँ महानगरको उपमेयरकी उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी

नेपालखबर : काठमाडौं महानगर उपप्रमुख उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी

मकालुखबर : सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी

खबरहब : सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी

न्युज२४ : काठमाडौं महानगरकी उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी

नेपालभ्युज : सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी

रिपोर्टर्स नेपाल : सुनिता डंगोलविरुद्ध शैक्षिक प्रमाणपत्र ढाँटेर काठमाडौं महानगरपालिकामा नियुक्ति लिएको भन्दै अख्तियारमा उजूरी

अनलाइन मिडियाहरुका समाचारमा उजुरीको एउटा पत्रको फोटो पनि हालिएको छ। जुन यस्तो छ(

आएका समाचार र उजुरीमा मुख्य विषय यस्तो छ–

काठमाडौँ महानगरपालिकामा सल्लाहकार नियुक्त हुन सम्बन्धित विषयमा न्यूनतम स्नातकोत्तर पास गर्नुपर्छ।
सुनीता डंगोलले शैक्षिक योग्यता ढाँटी विगत ५ वर्षदेखि काठमाडौँ महानगरपालिकाको शहरी विकास परियोजनाको सल्लाहकारमा नियुक्ति लिनुभएको थियो । उहाँ स्नातक (ब्याचलर्स) पास हो तर स्नातकोत्तर (मास्टर्स) पास गरेको भनी ढाँट्नुभयो । उहाँको तलब मासिक ८० हजार छ ।

के अख्तियारमा उजुरी परेको हो ?
माथिका कुनै पनि समाचारमा अख्तियारमा उजुरी परेको हो कि होइन भनी पुष्टि गरिएको छैन । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीलाई सोध्दा उहाँले दिउँसो सवा २ बजेसम्म सुनीता डंगोलविरुद्ध उजुरी परेको जानकारी आफू कहाँ नआइपुगेको बताउनुभयो । तर यसो भन्दैमा उजुरी नै नपरेको भनी अर्थ्याउन भने नमिल्ने उहाँको स्पष्टोक्ति थियो । प्रवक्ता भण्डारीका अनुसार आयोगले सामाजिक सञ्जाल, इमेल, टेलिफोनबाट समेत गरी ११ स्थानबाट उजुरी बुझ्ने गर्छ। उजुरीहरु अख्तियार प्रमुख कहाँ पुग्ने र त्यहाँबाट तोक लगाइसकेपछि स्टियरिङ कमिटीमा आएपछि बल्ल जानकारी पाइने उहाँले जानकारी दिनुभयो । भोलिसम्ममा उजुरी परेको हो कि हैन भन्ने जानकारी पाइने उहाँले सुनाउनुभयो । प्रवक्ताबाटै यस्तो भनाई आएपछि उजुरी परेको हो कि होइन भन्ने विषयमा पुष्टि भएको छैन । यद्यपि केही समाचारमा उजुरी दर्ता नम्बर सी–०३२५३१, ०७९–०१–१६, १५२६२३८५ लेखिएको छ।

प्रवक्ता भण्डारीका अनुसार अख्तियारको गेटमा आएर उजुरी दिँदा यस्तो दर्ता नम्बर दिने गरिन्छ । तर तोक लगाइसकेपछि मात्र त्यो प्रक्रियामा आउँछ।

केमा भएको हो सुनीता डंगोलको नियु्क्ति ?
महानगरपालिकाले दिएको आधिकारिक तथा प्रमाणित जानकारी अनुसार डंगोललाई सहायक विज्ञको रुपमा २०७६ असार ३१ गते शिक्षा, स्वास्थ्य, सामाजिक, वातावरण तथा विपद् व्यवस्थापन विषयगत क्षेत्र दिई नियुक्त गरिएको थियो । उहाँले २०७७ चैत १ गतेदेखि नै उक्त पद छाड्नुभएको थियो । उजुरी र समाचारहरुमा मासिक रु ८० हजार तलब लिएको उल्लेख छ। महानगरपालिकाले उपलब्ध गराएको आधिकारिक तथा प्रमाणित जानकारी अनुसार उहाँलाई अधिकृत स्तर छैठौँ तह सरहको मासिक पारिश्रमिक तथा परिवहन सुविधा दिइएको थियो । त्यस अनुसार उहाँले ३७ हजार ९ सय ९० रुपैयाँ मासिक पारिश्रमिक र ११ हजार रुपैयाँ परिवहन सुविधा लिएको देखिन्छ। दुवै जोड्दा ४८ हजार ९९० हुन आउँछ।

सहायक विज्ञ हुन शैक्षिक योग्यता स्नातकोत्तर चाहिन्छ ?

सहायक विज्ञमा नियुक्ति पाउनका लागि शैक्षिक योग्यता कति हुनुपर्ने हो त ?

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ बमोजिम काठमाडौँ महानगरपालिकाको नगरसभाले काठमाडौँ महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५ जारी गरेको थियो। यो ऐनको परिच्छेद ५ को दफा १६ मा सहायक विज्ञसम्बन्धी व्यवस्था छ । सहायक विज्ञमा ऐनले स्नातक तह र स्नातकोत्तर तह दुवै योग्यतालाई स्वीकार गरेको देखिन्छ । शैक्षिक योग्यता अनुसार तलबमान भने फरक हुने देखिन्छ। स्नातकोत्तर भएमा अधिकृत स्तरको आठौँ तहको न्यूनतम तलबमान बराबर मासिक पारिश्रमिक हुन्छ । स्नातक तहमा २ वर्षको अनुभव भएकोलाई अधिकृत स्तर छैटौँ तहको न्यूनतम तलबमान बराबर र ५ वर्ष अनुभव भएकोलाई अधिकृत स्तर सातौँ तहको न्यूनतम तलबमान बराबरको मासिक पारिश्रमिक तोकिएको छ।

यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ ऐन

सुनीता डंगोललाई अधिकृत स्तर छैटौँ तहको न्यूनतम तलबमान बराबर पारिश्रमिक दिएको देखिएकोले उहाँको न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर हुनुपर्ने भनी उजुरीमा गरिएको जिकिर सही देखिन्न। यो पदका लागि स्नातक पनि उपयुक्त हुने देखिन्छ। तर त्यसका लागि २ वर्ष अनुभव हुनुपर्ने व्यवस्था भने ऐनले गरेको छ।

तथ्य जाँच

दावी ः काठमाडौँ महानगरपालिकाका उपमेयर उम्मेदवार सुनीता डंगोललाई काठमाडौँ महानगरपालिकामा सल्लाहकार नियुक्त गरिएको थियो। यसका लागि सम्बन्धित विषयमा न्यूनतम स्नातकोत्तर पास गर्नुपर्छ। उहाँको मासिक पारिश्रमिक ८० हजार थियो। विगत ५ वर्षदेखि उनी यो पदमा थिइन्।

तथ्य ः भ्रामक सूचना। डंगोललाई काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगमा सहायक विज्ञका रुपमा नियुक्त गरिएको थियो। काठमाडौँ महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५ अनुसार स्नातक तह पास गरी दुई वर्षको अनुभव भएकोले पनि यो पदमा नियुक्ति पाउन सक्छन् । उहाँको मासिक पारिश्रमिक ३७ हजार ९ सय ९० रुपैयाँ र ११ हजार रुपैयाँ परिवहन सुविधा गरी ४८ हजार ९९० भएको महानगरपालिकाले उपलब्ध गराएको आधिकारिक, प्रमाणित कागजातबाट देखिन्छ । ५ वर्षदेखि उनी यो पदमा रहेको दावी पनि गलत देखिएको छ। उहाँलाई २०७६ असार ३१ गते नियुक्त गरिएको र २०७७ चैत १ गते छाडेको कागजातमा देखिएको छ।

नेपाल फ्याक्ट चेक डट ओआरजीले लेखेको छ ।