जनता टाइम्स

२० बैशाख २०७९, मंगलवार १७:४१

गृहजिल्लाबाट ओलीको उदघोष : चुनावबाट पाँचै दललाई एकैपटक ‘कर्याककुरुक’ पारेर फालिन्छ


झापा, बैशाख २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनलाई धुलो चटाउने उदघोष गर्नुभएको छ ।

गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिका १ गोल्धापमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी दुवै निर्वाचनमार्फत एमालेले पाँच वटै दललाई पत्तासाफ गर्ने घोषणा गर्नुभयो । अध्यक्ष ओलीले गठबन्धन टुट्ने हो कि भन्ने डर आफूलाई रहेको भन्दै व्यंग्य पनि गर्नुभयो ।

‘मलाई डर के छ भने हत्तपत्त यो गठबन्धन टुटिहाल्ला कि भन्ने डर छ । पाँचै जना (दल) लाई एकै पटक ‘कर्याककुरुक’ पारेर फाल्दिनु जति आनन्द अरु केहीमा हुँदैन,’ अध्यक्ष ओलीले भन्नुभयो । एमालेको शक्तिका कारण मुलुकको राजनीति नै दुई धारमा मात्र सीमित बनेको तथ्य पनि उहाँले खोल्नुभयो ।

‘आज राष्ट्रिय राजनीति दुई भागमा बाँडिएको छ । एमाले कस्तो भए छ त अहिले भन्दा, एकतिर एमाले, अरु बाँकी सवै अर्कातिर । त्यहीँ पनि बहुमत एमालेको । आज देश यस स्थितिमा पुगेको छ,’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले भन्नुभयो, ‘एमालेसंग भिड्न एक्लै कसैले होइन, चार जनाले पनि चिताउन सक्दैन, पाँचै जना चाहिन्छ ।’

उहाँले गठबन्धनका कारण एमालेलाई धेरै फाइदा पुगेको पनि बताउनु भयो । ‘गठबन्धन उहाँहरुलाई कति फापेको छ उहाँहरु जान्नुहुन्छ । एमालेलाई चाहिँ फापेको छ,’ अध्यक्ष ओलीले भन्नुभयो । उहाँले आसन्न स्थानीय तहको निर्वाचनमार्फत ‘झापा जिल्ला, लाल किल्ला’ हुने उदघोष गर्नुभयो । पाँच दल मिल्दा पनि एमालेलाई हराउने हिम्मत ‘गठबन्धन’ सँग नभएकोले वैशाख ३० को निर्वाचनमा एमालेको बहुमत आउने उहाँको भनाई छ ।