काठमाडौं, बैशाख २० । काठमाडौंको स्वयम्भूमा मृत अवस्थामा भेटिएका एक व्यक्तिको हत्या भएको खुलेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार यही वैशाख २ गते काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुका २५ वर्षीय नरेश गौतम मृत भेटिनुभएको थियो । अनुसन्धानका क्रममा उहाँलाई केही व्यक्तिले कुटपिट गरी हत्या गरेको खुलेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो।
उहाँका अनुसार फरार व्यक्ति खोजतलास गर्ने क्रममा हत्या आरोपित दुई जनालाई पक्राउ गरिएको छ ।पक्राउ पर्नेमा सिन्धुलीको फिक्कल गाउँपालिका–१ घर भई काठमाडौँको वनस्थली बन्दै आएका राजेश सुनार र सिन्धुलीको दुधौली घर भई काठमाडौँको नागार्जुन बस्ने प्रकाश तिमिल्सिना रहेका छन् ।
तिमिल्सिनालाई गोरखा प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याइएको हो ।उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको परिसरले जानकारी दिएको छ । उक्त घटना शंकास्पद देखिएपछि प्रहरी वृत्त स्वयम्भूसहित, जिल्ला प्रहरी परिसर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका साथै महाराजगन्जस्थित शिक्षण अस्पतालको फरेन्सिक विभागका चिकित्सकको टोलीले घटनाको अनुसन्धान गरेको थियो ।












प्रतिक्रिया दिनुहोस्