कालीकोट, बैशाख २० । स्थानीय तह निर्वाचनअन्तर्गत नेकपा (माओवादी केन्द्र)ले कालीकोटका ९ मध्ये ७ प्रमुख आफैले लिने गरी तालमेल गरेको छ । सत्ता गठबन्धनमा रहेको कांग्रेसका भागमा परेको महाबै गाउँपालिका अध्यक्ष आफैले लिन एमालेलाई उपाध्यक्ष दिएको छ । त्यस्तै समाजवादीको भागमा परेको शुभकालिकाको अध्यक्ष पनि कांग्रेसलाई उपाध्यक्ष दिएर माओवादीले प्रमुखमा उम्मेदवार उठाएको छ ।
जिल्लाको खाँडाचक्रमा समाजवादीको तर्फबाट स्वतन्त्र उम्मेदवार बनेका कमलबहादुर शाहीलाई प्रमुख मानेर उपप्रमुखमा माओवादी केन्द्रका गणेशबहादुर शाहीलाई उम्मेदवार बनाएको छ । त्यस्तै, तिलागुफामा कांग्रेसले प्रमुख छाड्न नमानेपछि नेमकिपासँग सहकार्य गर्ने गरी छलफल चलाएको छ भने कांग्रेसका शंकरप्रसाद उपाध्यायले एमालेका महेन्द्रबहादुर शाहीको उपप्रमुखमा सहकार्यको हात फैलाउनुभएको छ ।
त्यस्तै, नरहरिनाथमा समाजवादीका धीरबहादुर विष्ट अध्यक्षमा दोहोरिनुभएको छ भने र माओवादी केन्द्रका कमलबहादुर शाह उपाध्यक्षको टीमले छुट्टाछुट्टै उम्मेदवारी दिएका एमाले, कांग्रेस र चन्द समूहसँग प्रतिस्पर्धा गर्ने तयारी गरेको माओवादी केन्द्र नरहरिनाथ गाउँ कमिटी अध्यक्ष मनशोभा बुढाले बताउनुभयो । समाजवादी र माओवादी केन्द्रबीच गठबन्धन बनेको हो, उहाँले भन्नुभयो अरु को–को मिल्छन् भन्नेबारे एकीन छैन ।
सान्नीत्रिवेणीमा माओवादीकै डम्मरबहादुर शाही दोहोरिएर समाजवादीका कृष्णकला पाण्डेलाई उपाध्यक्षका उम्मेदवार बनाइएको छ । माओवादीकै महेश केसी स्वतन्त्र उम्मेदवार कायमै छन् । रास्कोट, पचालझरना र पलातामा पनि माओवादी केन्द्रले अध्यक्ष लिने गरी एकीकृत समाजवादीको साथमा लिएको छ । माओवादी केन्द्रले चलाखी गरेको कांग्रेस महासमिति सदस्य भूपेन्द्रजंग शाहीले प्रतिक्रिया दिनुभयो । उनीहरुले चलाखी गरेर ७ पालिका प्रमुख आफैले लिने प्रपञ्च गरेर गठबन्धनको नाटक गरे, उहाँले भन्नुभयो , यो सफल हुन दिदैनौँ ।













प्रतिक्रिया दिनुहोस्