जनता टाइम्स

२१ बैशाख २०७९, बुधबार ०५:५८

दुई हजार भन्दा बढी मतअन्तरले बिजयी हुनेछु : कालुमान लामा


उदयपुर, बैशाख २१ । यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा उदयपुरको चौदण्डी नगरपालिकामा नेकपा एमालेबाट नगरप्रमुुखमा कालुमान लामा उम्मेदवार हुनुहुन्छ । ससमृद्ध नगर निर्माणको अभियानका साथ अघि बढनुभएका लामा चुनाव नजिकिँदै जाँदा मतदातामा एमालेप्रति देखिएको आकर्षण र बिश्वासले जित्नेमा ढुक्क देखिनुभएको छ ।

बावु प्रेमलाल लामा र आमा दिलकुमारी लामाका पाँचछोरा र एकछोरी गरी छ सन्तानमध्ये माईलो छोराको रूपमा उदयपुर जिल्लाको साविक बसाह गाविस हाल चौदण्डी नगरपालिकामा २०३४ सालमा जन्मिनुभएको कालुमान लामाको पारिवारिक अवस्था मध्यम थियो । उहाँको बावु प्रेमलाल लामामा सबै सन्तानले शिक्षा हासिल गर्नुपर्छ भन्ने सोच थियो । नारद आदर्श माध्यमिक विद्यालयमा माध्यमिक स्तरको पढाई सकेका लामा पढाईमा सामान्य विद्यार्थीको रूपमा चिनिन्थे ।

स्कुले जीवनबाटै राजनीतिक थालेका लामा प्रारम्भिक कमिटीदेखि नै राजनीतिमा होमिनुभएको हो । स्थानीय विद्यालयमा रहँदै राजनीतिक यात्रा थालेका लामा २०५५ सालमा महेन्द्र बहुमुखी क्याम्पस राजविराजमा स्ववियू सभापति उठ्नुभयो । सो निर्वाचनमा उहाँले पराजय भोग्नुपर्यो । त्यसपछि नारद शिक्षा क्याम्पस बसाहमा २०६० सालमा स्ववियू सभापति हुनुभयो ।

स्नातकसम्मको अध्ययन पूरा गर्नुभएका लामा विद्यार्थी राजनीति हुँदै युवा संघ उदयपुर सचिवको जिम्मेवारी सम्हाल्दै अहिले नेकपा एमालेको जिल्ला सचिव हुनुहुन्छ । पार्टीलाई अप्ठ्यारो परेको बेला सक्दो सहयोग गर्नुभएका लामा पार्टीका अविचलित खम्बा हुनुहुन्छ । भारत, भुटान र वंगलादेशको भ्रमण गरी त्यहाँको विकासबाट प्रभावित हुनुभएका लामा भन्नुहुन्छ, यस पालिकालाई सङ्कटमा परेको बेला, चौदण्डिगढी नगरपालिकाका नागरिक विकासको लागि छट्पटाएको बेला, रोजगारी र आत्मनिर्भर हुने सपना बुनिरहेको बेला त्यो सपना पूरा गर्न मैले नगरप्रमुखको उमेदवारी दिएको छु ।

किसान परिवारमा जन्मिएका लामा कृषि पेशाले सम्मान नपाएको भन्ने विषयमा जानकार हुनुहुन्छ । विकासका काममा आउने अप्ठ्यारोहरूलाई बुझ्नुभएको छ । नगरपालिकाभरिका सबै ठाउँ घुमेका लामा सवै जनताको पीर व्यथा अप्ठ्यारोको जानकार हुनुहुन्छ । भूगोलको हरेक विषयमा अपडेट राई समृद्ध चौदण्डि बनाउने सपना देखेर अगाडि बढ्नुभएको छ ।

उहाँ भन्नुहुन्छ, ‘मलाई मेरो पालिका समृद्ध र आत्मनिर्भर पालिका बनाउन मन छ, युवाका लागि रोजगार सिर्जना हुने साझा सूर्य बनाउन मन छ, हरेक समुदायको पहिचानसहितको सम्मानित जीवन जिउने बनाउन मन छ, पालिकामा विभिन्न लघु उद्यम सञ्चालन गरी आत्मनिर्भर पालिकाको रूपमा चिनाउन, महिला पुरुषमा रहेको विभेदको अन्त्य गरी समानता कायम गर्न मन छ ।’

साधारण जीवन शैलीमा पार्टीप्रतिको जिम्मेवारी बहन गरेका लामा पार्टीका जिम्मेवार सिपाही हुनुहुन्छ । उहाँ थप्नुहुन्छ, ‘अब एक पटक म पालिकालाई सुन्दर र समृद्ध पालिका बनाउन तपाईँहरू सामु आइपुगेको छु,’ मलाई विश्वास छ “चौदण्डीलाई सुन्दर, समृद्ध र आत्मनिर्भर बनाउनका लागि यस पटक दुई हजार भन्दा बढी मतअन्तरले बिजयी हुनेछु ।’