जनता टाइम्स

२१ बैशाख २०७९, बुधबार ०६:४९

परराष्ट्र मन्त्रालयले भन्यो – भारतीय प्रधानमन्त्रीको भ्रमणबारे आधिकारिक खबर केही आएको छैन



काठमाडौँ, २१ बैशाख । परराष्ट्र मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त नभएको पुष्टि गरेको छ ।भारतीय प्रधानमन्त्री मोदी बुद्ध पूर्णिमाको अवसरमा नेपाल भ्रमणमा जाने भएको सोमबार अखबार द हिन्दूले समाचार लेखेको थियो ।

स्रोतलाई उद्धृत गर्दै अखबार हिन्दूले लेखेको छ, सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ।परराष्ट्रका एक कर्मचारीले भने,भीभीआईपी भ्रमण हुने कुरा मन्त्रालयलाई थाहा हुनु पर्ने हो तर, त्यस विषयमा कुनै पनि जानकारी प्राप्त भएको छैन । अहिलेसम्म कुनै भ्रमण उच्चस्तरबाट हुने जानकारी आइसकेको छैन । निकट भविष्यमा खबर आउला भन्ने बेग्लै कुरा हो । भ्रमणको खबर प्राप्त भएको भए सूचना दिन अप्ठयारो हुँदैन थियो ।प्रधानमन्त्री शेरबहादुर देउवाले एक महिना अघि भारत भ्रमण गर्नुभएको थियो । सोही समयमा देउवाले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको ती कर्मचारीले बताउनुभयो । स्रोतका अनुसार भ्रमणको सम्भावनाहरू अझै पनि बाँकी छ ।

उच्च कूटनीतिक तहको भ्रमण हुँदा परराष्ट्र मन्त्रालयले प्रोटोकल मिलाउने गर्छ । अहिलेसम्म कूटनीतिक भ्रमण हुने भनेर खबर प्राप्त नभएको परराष्ट्र स्रोतले दाबी गर्‍यो ।निकट भविष्यमा उच्चस्तरीय भ्रमण हुन सक्ला बाहिर समाचारमा आएजस्तो आधिकारीक खबर प्राप्त नभएको ती कर्मचारीको भनाइ छ । नेपालभित्र हुने जुनसुकै निकायमा उच्चस्तरको भ्रमण हुने भए पनि परराष्ट्र मन्त्रालयले जानकारी हुने गरेको उहाँको भनाइ छ । भारतीय प्रधानमन्त्री मोदी जस्तो उच्चस्तरीय व्यक्तिको भ्रमण हुँदा शान्ति, सुरक्षा र हस्पिटालिटीको व्यवस्थापनको कुराहरू हुन्छन्, परराष्ट्र सोत भन्छ, उच्चस्तरको व्यक्तिको भ्रमण हुँदा परराष्ट्रले सबै कुराको व्यवस्थापन मिलाउने गरेको छ ।प्रधानमन्त्री भएपछि मोदीले सन् २०१४ र २०१८ मा दुई पटक नेपालको भ्रमण गरेका थिए। २०१८ मा जनकपुर र मुक्तिनाथ भ्रमण गर्नुभएको थियो ।