काठमाडौं, बैशाख २१ । भारतीय कांग्रेस आईका नेता राहुल गान्धी ठमेलको एक डिस्कोमा गएपछि भारतमा तरंग आएको छ। साथीको विहेमा सहभागी हुन सोमबार साँझ काठमाडौं ओर्लिनु भएका राहुल राति ठमेलस्थित एलओडी नाइटक्लब पुगेको तथ्य सार्वजनिक भएपछि भारतमा तरंग आएको हो ।
गान्धी नाइट क्लब गएको भिडियो बाहिरिएसँगै भारतीय राजनीति तरंगित बनेको छ। भारतीय सञ्चारमाध्यमले पनि राहुलको डिस्को मनोरञ्जनलाई निकै प्राथमिकता दिएका छन्। सार्वजनिक भिडियोमा राहुल एक महिलासँग क्लबमा छन्। राहुलको नाइट क्लबको भिडियो सार्वजनिक भएसँगै भारतीय सत्तारुढ दल भाजपाका नेताहरुले उहाँको आलोचना गरेका छन् भने कांग्रेस आई प्रवक्ताले बचाउ गरेका छन्।
भाजपा प्रवक्ता शहजाद पुनावालाले देशभित्र भइरहेका हिंसामा चिन्ता व्यक्त गर्नु, जनताको समस्यामा साथ रहनुको सट्टा नेपालमा नाइट क्लबमा पार्टी गरेर बस्नु गैरजिम्मेवार भएको बताउनु भएको छ। यो गान्धीको निजी मामिला भएपनि देशमा उत्पन्न प्रतिकूल अवस्थामा जनताको साथमा उभिनुपर्नेमा डिस्को जानु उपयुक्त नभएको उहाँको भनाइ छ।
‘कांग्रेस पार्टी सिद्धिसक्यो। तर राहुल गान्धीको पार्टी चलिरहेको छ,’ उहाँले व्यंग्य गर्नुभएको छ, ‘उनी राजनीतिमा गम्भीर छैनन। उनको पार्टी र देशलाई जरुरत परेका बेला उनी नेपालमा पार्टी गरेर बसेका छन्।’
केन्द्रीय कानुन न्यायमन्त्री किरेन रिजिजुले राहुल गान्धी भिडियो शेयर गर्दै अरुलाई उपदेश दिन सजिलो भएको तर आफूले कार्यान्वयन गर्न नपर्ने भनी प्रश्न गर्नुभएको छ । एक सांसद र राष्ट्रिय राजनीतिक दलका नेताको रुपमा यो कार्य उपयुक्त नभएको उहाँको तर्क छ ।
भाजपाका अर्का नेता कपिल मिश्राले पनि ट्वीटरमार्फत राहुल गान्धी कोसँग डिस्को गएको भनी प्रश्न गर्नुभएको छ । ‘के चिनियाँ एजेन्टसँग हुन ?’ उहाँले प्रश्न गर्नुभएको छ, ‘के राहुलले सेनाविरुद्ध चिनियाँ दबाबमा ट्वीट गर्छन ?’ उहाँले प्रश्न राहुलको होइन देशको भएको बताउनु भएको छ ।
भाजपा सामाजिक सञ्जाल इन्चार्ज अमित मालवीयले पनि राहुललाई व्यंग्य गर्नुभएको छ । ‘जब मुम्बईमाथि हमला भएको थियो, तब पनि राहुल नाइट क्लबमा थिए। अहिले जब उनको पार्टी संकटमा छ, तब पनि नाइट क्लबमै छन्। उनमा निरन्तरता छ,’ उहाँले भन्नुभएको छ । राहुल गान्धीको डिस्को प्रवेशमा भाजपा नेताहरुले प्रश्न उठाएपछि कांग्रेस आईका प्रवक्ता रणदीप सुरजेवालाले भिडियोमा कुनै कुरा गलत नभएको प्रष्टीकरण दिनुभएको छ ।
राहुल काठमाडौंमा आफ्नो साथीको विहेमा गएको र यो उहाँको व्यक्तिगत यात्रा भएको पनि प्रवक्ता रणदीपउनले प्रष्ट्याउनु भएको छ । विहे र इन्गेजमेन्टमा सहभागी हुनु भारतीय परम्परा भन्दै प्रवक्ता सुरजेवालाले प्रधानमन्त्री नरेन्द्र मोदी नबोलाएरै पाकिस्तानमा सहभागी भएजसरी राहुल गान्धी नगएको जवाफ दिनुभएको छ । कुनै साथीको विहे समारोहमा सहभागी हुनु अपराध नभएको उहाँको भनाइ छ। राहुल आफ्नी नेपाली साथी सुम्निमा उदासको विहेमा सहभागी हुन काठमाडौं आउनु भएको हो ।
म्यानमारका लागि पूर्वनेपाली राजदूत भीम उदासकी छोरी एवं सीएनएनकी पूर्वपत्रकार सुम्निमाको नीमा मार्टिन शेर्पासँग आज विहे हुँदैछ। उनको विहेमा अन्य भारतीय हस्तीसमेत सहभागी छन्।













प्रतिक्रिया दिनुहोस्