काभ्रे , बैशाख २१ । काभ्रेमा बस र जीप ठोक्किँदा पाँच जनाको ज्यान गएको छ । बस र जीप ठोक्किँदा १८ जना घाइते भएका छन् ।
काठमाडौंबाट जनकपुरका लागि छुटेको भारतीय नम्बर प्लेटको बस यूपी ५८ टी ८१८१ र सिन्धुलीबाट काठमाण्डौका लागि छुटेको ना १ ज ४२१० नम्बरको जीप काभ्रेको रोशी गाउँपालिका ११ मङ्गलटारमा ठोक्किँदा पाँच जनाको ज्यान गएको हो ।
काभ्रेका एसपी चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा रामेछापकी ३५ वर्षीया सम्झना भुसाल र उनको ७ वर्षीय छोरा संगित भुसाल, सिन्धुलीको कमलामाई–७ का ३१ वर्षीय बिक्रम श्रेष्ठ, कमलामाई–४ का ४५ वर्षीय हरिबहादुर बल र सुनकोशी–१ की ४४ वर्षीया प्रमिला नेपाली रहेका छन् । मृत्यु हुने सबै जीपमा सवार यात्रु हुन् । घाइते हुनेमा ८ जना जीपमा सवार र १० जना बसमा सवार तीर्थ यात्री रहेका छन् । ज्यान गुमाउने पाँचै जना जीपका यात्रु र सबै नेपाली रहेका उहाँको भनाइ छ ।
घाइते १८ जनामध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर केहीलाई धुलिखेल अस्पताल पठाइएको डीएसपी खतिवडाले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्