जनता टाइम्स

२२ बैशाख २०७९, बिहीबार ०८:५२

स्मार्ट सिटी भरतपुरमा सत्ता गठबन्धनले चुनावी सभा गर्ने ठाउँ जलमग्न


काठमाडौं, २२ बैशाख । सत्ता गठबन्धनले संयुक्त चुनावी सभा गर्ने भरतपुरको केन्द्रीय बसपार्क क्षेत्र डुबानमा परेको छ । रातभर परेको वर्षाका कारण भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको खाली क्षेत्र जलमग्न भएको हो ।

स्मार्ट सिटीको गफ गर्ने गठबन्धनका नेताहरुको सभाका लागि अघिल्लो दिन नै तयार पारिएको मञ्च र टेन्टहरू पनि डुबानमा परेका छन् । आमसभा स्थललाई सजाउन राखिएका झण्डाहरू पनि हावाले उडाउँदा यत्रतत्र झरेर पानीमा डुबेका छन् । अब कसरी आमसभा गर्ने भन्नेबारे छलफल चलिरहेको छ ।

भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल प्रमुख पदमा र नेपाली कांग्रेसका चित्रसेन अधिकारी उपप्रमुख पदमा उम्मेदवार छन् । कांग्रेसकै नेता जगन्नाथ पौडेलले मेयर पदमा बागी उम्मेदवारी दिनुभएको छ । यसैगरी नेकपा एमालेले विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाएको छ ।