जनता टाइम्स

२२ बैशाख २०७९, बिहीबार ११:५१

नेकपा एसका मेयर उम्मेदवारले गरे एमाले उम्मेदवारलाई समर्थन


जनकपुर, बैशाख २२ । धनुषाको सबैला नगरपालिकामा नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार राजु गुप्ताले नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्नुभएको छ । सबैला नगरपालिकामा एमालेका तर्फबाट राज किशोर यादव मेयरको उम्मेदवार हुनुहुन्छ ।

आफ्नो पक्षमा माहोल नदेखेपछि एकीकृत समाजवादीका मेयर उम्मेदवार गुप्ताले एमाले उम्मेदवार यादवलाई समर्थन गर्नुभएको हो । उम्मेदवार यादव नेकपा एमालेका जिल्ला अध्यक्ष हुनुहुन्छ । यादवलाई मेयरमा समर्थन गरेपछि गुप्ताले आफ्नो पुरानो घर एमालेमा फर्केको प्रतिक्रिया दिनुभयो ।

एमाले नेता एवं मधेस प्रदेशका पूर्व सांसद रामचन्द्र मण्डलको पहलमा गुप्ताले एमालेका यादवलाई समर्थन गर्नुभएको हो ।मण्डल ०७४ को निर्वाचनमा प्रदेश सांसदमा निर्वाचित हुनुभएको थियो । संसदीय दलका नेता रहेका बेला राज्यमन्त्री सरहको सुविधा पाउँदै आउनु भएका मण्डल माओवादी छाडेर एमालेमा प्रवेश गरेपछि सांसद पद समेत गुमेको थियो ।