काठमाडौं, २२ वैशाख । सत्ता गठबन्धनलाई चितवन भरतपुर महानगरकाका बागी उम्मेद्वार जगन्नाथ पौडेल टाउको दुखाइको विषय बनेको छ । कांग्रेस नेता समेत रहेका पौडेलले स्वतन्त्रबाट उम्मेदवारी दिएपछि यतिबेला उनलाई फकाउन सत्ता गठबन्धन पुरै हात धोएरै लागेको छ । सत्ता साझेदार मध्येका प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाल पनि भरतपुरमा मेयरकी उम्मेदवार हो ।
उहाँको उम्मेदवारीप्रति असन्तुष्ट बनेको नेपाली कांग्रेस चितवनको तर्फबाट पौडेललले बागी उम्मेदवारी दिनुभएको थियो । बागी उम्मेदवारी फिर्ता लिएर रेणुलाई सहयोग गर्न उहाँलाई फकाउन पुरै सत्ता लागि परेको छ । तर, उहाँ भने आफ्नो उम्मेदवारीबाट एक इन्च पनि पछि नहट्ने अडानमा हुनुहुन्छ । नेपाली कांग्रेसले उहाँलाई पार्टीबाट निस्कासन गरिसकेको छ । तर, पनि नेताहरू उहाँलाई उम्मेदवारी फिर्ता गराउन लागि परेका हुन् ।
उम्मेदवारी फिर्ता लिएर रेणुलाई सहयोग गर्ने विषयमा कुरा गर्न खोज्दा उहाँले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट्न अस्वीकार गर्नुभएको छ । यही क्रममा उहाँलाई आज विहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भेट गर्नुभएको थियो । करिब १० मिनेट भएको भेटमा रामचन्द्रले उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको थियो । यति मात्र नभएर सभापति देउवासँग भेट गर्न समेत अनुरोध गर्नुभएको थियो ।
तर, उहाँले उम्मेदवारी फिर्ता लिन र देउवासँग भेट्न अस्वीकार गर्नुभयो । भरतपुरस्थित होटल सिरागचुलीमा रामचन्द्र र जगन्नाथसहित उनी पक्षधर नेताबीच छोटो कुराकानी भएको हो । जगन्नाथसँगै उहाँको प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक रहनुभएको मीना खरेल र पूर्व सांसद् भीमबहादुर श्रेष्ठ लगायतका नेतासँग राचमन्द्रले भेट गर्नुभएको थियो । भेटको क्रममा आफूहरूले पुरानै अडान राखेको जगन्नाथले बताउनुभयो ।
‘हामीले पुरानै अडान राख्यौं । यदि मैले पछि हट्नुपर्छ भने रेणु दाहालको पनि उम्मेदवारी फिर्ता हुनुपर्छ,’ रामचन्द्रसँगको भेटबारे जगन्नाथले भन्नुभयो,‘त्यसपछि यहाँ कांग्रेस आफैंले मेयरमा लड्नुपर्छ । यदि त्यसो हुन्छ भने मात्र म पछि हट्छु नत्र हट्दिन ।’ रामचन्द्रले देशभर गठबन्धन बनेकाले यहाँबाट उम्मेदवारी फिर्ता लिएर सहयोग गरिदिनुपर्यो भन्नुभएको थियो ।
तर, आफू निकै अघि बढिसकेको भन्दै कुनै पनि हालतमा पछि हट्न नसक्ने जानकारी गराएर आफू चुनावी अभियानका लागि निस्किएको उहाँको भनाइ छ । भेट अघि रामचन्द्रले पटक–पटक फोन गरेर भेट्न आग्रह गर्नुभएको थियो । आफूहरू घरदैलो अभियानमा व्यस्त रहेको भन्दै उहाँहरूले भेट गर्न अस्वीकार गर्नुभएको थियो । तर, पटक–पटक फोन गरेपछि उहाँ छोटो समयका लागि भेट गर्न तयार हुनुभएको हो ।
भरतपुर महानगरमा सत्ता गठबन्धनबाट रेणु दाहाल मेयर र कांग्रेसको तर्फबाट चित्रसेन अधिकारी उप–मेयरका उम्मेदवार बन्नुभएको छ । चुनावी तालमेलको विपक्षमा रहेको कांग्रेसको असन्तुष्ट पक्षले जगन्नाथलाई मेयरको उम्मेदवार बनाएको थियो । उहाँलाई फकाउने रामचन्द्र पहिलो नेता भने होइनन् । यसअघि गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ लगायतले जगन्नाथलाई भेटेर उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको थियो ।
प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको विशेष दूत बनेर काठमाडौंबाट चितवन पुगेका गृहमन्त्री खाणले जगन्नाथलाई घरमै पुगेर फकाउनुभयो । बागी फकाउन उहाँ १४ वैशाखमा चितवनस्थित उहाँकै घरमा पुग्नुभएको थियो । बागी फकाउन चितवन पुग्नुभएको गृहमन्त्री खाँण रित्तो हात काठमाडौं फर्किनुभयो ।
उहाँसँगको भेटमा जगन्नाथले आफू निकै अघि बढिसकेको र पछि फर्किने अवस्था नरहेको प्रष्ट पार्नुभएको थियो । बागी उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेपछि खाण १६ वैशाखमा काठमाडौं फर्किनुभएको थियो । यसै बीचमा प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री श्रेष्ठले पनि उहाँलाई फकाउने प्रयास गर्नुभएको थियो । तर, उहाँसँग पनि जगन्नाथले पुरानै जवाफ दिनुभएको थियो ।
उम्मेदवारी दिनुअघि नै कांग्रेसले बागी उठाउने संकेत पाएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि त्यसबारे कांग्रेसको ध्यानाकर्षण गराउनुभएको थियो । कांग्रेस नेताहरूसँगको भेटमा प्रचण्डले बागी उम्मेदवारीबारे नसोच्न आग्रह गर्नुभएको थियो ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा रेणुलाई सहयोग गरेको भन्दै यसपटकको निर्वाचनमा कांग्रेसलाई माओवादीले सघाउनु पर्ने कांग्रेस चितवनका नेता कार्यकर्ताको माग थियो । तर, प्रचण्डले सत्ता गठबन्धन बैठकमा चितवन आफूले जित्न सजिलो हुने बताउँदै मेयरमा आफ्नो भागमा लिएर रेणुलाई मेयरमा उठाएका थिए । तर, कांग्रेसको तर्फबाट जगन्नाथ बागी उठ्नुभएको हो ।














प्रतिक्रिया दिनुहोस्