जनता टाइम्स

२२ बैशाख २०७९, बिहीबार १८:५१

पैसा राखेर पाउ ढोगेका कांग्रेसका वडा अध्यक्ष उम्मेदवारलाई निर्वाचन आयोगको प्रश्न– तपाईंलाई किन कारबाही नगर्ने ?


काठमाडौं, २२ वैशाख । मतदाताको पाउमा पैसा राखेको भन्दै समाचार सार्वजनिक भएका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० का वडा अध्यक्षलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष पदका उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजारको नोट राखेर भोट माग्दै गरेको तस्बिरसहितको समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको भन्दै निर्वाचन आयोगले उहाँलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

आयोगले भनेको किन कारबाही नगर्ने भन्दै जवाफ मागेको हो । ‘निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम किन कारबाही नगर्ने हो २४ घण्टाभित्र आधार प्रमाणसहित स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ’ आयोगले जारी गरेको विज्ञप्तिमा भनेको छ । कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार खनालले मतदाताको पाउमा पैसा राखेको भन्दै फोटो र समाचार सार्वजनिक भएको थियो तर उहाँले भने आफूले दिदीको खुट्टा ढोगेको बताउनुभएको थियो ।