जनता टाइम्स

२३ बैशाख २०७९, शुक्रबार १९:२६

डिआइजी बशन्त लामा एआइजीमा बढुवा सिफारिश


काठमाडौं, बैशाख २३ । सरकारले नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) वसन्तकुमार लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरेको छ । एआइजीमा साधारण सेवातर्फ ८ मध्ये ५ वटा पद रिक्त भए पनि सरकारले लामालाई मात्रै बढुवा सिफारिस गरेको हो ।

गृहसचिव अध्यक्ष रहेको बढुवा सिफारिस समितिले शुक्रबार लामालाई एआईजीमा सिफारिस गरेको हो । बढुवाका लागि डीआईजीहरु उत्तम सुवेदी, अरुण बिसी, दिवेश लोहनी पनि प्रतिस्पर्धामा हुनुहुन्थ्यो । तर, लामा उमेर हदका कारण जेठ पहिलो साताबाट अनिवार्य अवकाशमा जाने भएपछि त्यस अगावै सरकारले उहाँलाई एकल बढुवा सिफारिस गरेको हो । लामा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहका ब्याजी हुनुहुन्छ ।

२०४९ चैतमा उहाँ प्रहरी सेवा प्रवेश गर्नुभएको हो । २०४९ वैशाख १८ मा प्रहरी निरीक्षकबाट प्रवेश गरी ३० वर्षे सेवा अवधिका कारण हालै महानिरीक्षक शैलेश थापा क्षत्री तथा एआईजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की र वसन्त पन्तसहितका अधिकारीले अवकाश पाएपछि अहिले ५ वटा एआईजी पद रिक्त छ ।

यसअघि गृहसचिव अध्यक्ष रहेको समितिले सशस्त्र प्रहरीमा पनि दुई वटा एआईजी पद रिक्त हुँदाहुँदै डीआईजी नारायणदत्त पौडेललाई मात्रै एकल बढुवा सिफारिस गरेको थियो । डीआईजीहरु पौडेल, चन्द्रप्रकाश (सीपी) गौतम र वंशीराज दाहाल बढुवाका दाबेदार रहे पनि पौडेल एकल बढुवा सिफारिसमा पर्नुभएको हो ।