काठमाडौं, बैशाख २४ । स्थानीय तहको निर्वाचन मिति नजिकिदै जाँदा नेकपा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गर्ने क्रम दैनिक रुपमा हुन थालेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरी रेनु दाहाललाई जिताउन देशैभर कांग्रेससँग आत्मसमर्पण गरेको भन्दै काठमाडौंका प्रभावशाली एक जना नेता प्रचण्ड नेतृत्वको माओवादी त्यागेर आजबाट एमाले प्रवेश गर्नुभएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३२ का प्रभावशाली नेता भरत घिमिरे आज आफ्नो टीमसहित एमाले प्रवेश गर्नुभएको हो । एमाले केन्द्रीय कार्यालयमा उहाँलाई महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गर्नुभयो । महासचिव पोखरेलको हातबाट खादा र टीका लगाएर एमाले प्रवेश गरेपछि पोखरेलले प्रचण्ड कम्युनिष्ट आन्दोलनकै गद्धार देखिएको र प्रतिक्रियावादीसामू मिलेर नेपालको कम्युनिष्ट आन्दोलन सकाउने षडयन्त्रमा लागेको प्रष्ट भइसकेपछि एमाले रोजेको बताउनु भयो ।

‘माओवादी पार्टी कांग्रेसको भातृसंगठन भन्दा फरक नदेखिएको र कम्युनिष्ट आन्दोलन मास्ने अभियानमा प्रचण्ड नै लागेपछि माओवादी त्यागेर एमाले रोजेको हुँ,’ घिमिरेले भन्नुभयो । काठमाडौं ३२ मा यसअघि नै माओवादीका वडा कमिटी अध्यक्ष पदम रेग्मी एमाले प्रवेश गरिसक्नु भएको छ । घिमिरे पनि एमाले प्रवेश गरेपछि वडा नम्बर ३२ मा माओवादी लगभग रित्तिएको छ ।













प्रतिक्रिया दिनुहोस्