जनता टाइम्स

२५ बैशाख २०७९, आईतवार ०८:२१

आमसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आज चितवन आउँदै


चितवन, बैशाख २५ । भरतपुर । नेकपा (एमाले) चितवनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउँदै हुनुहुन्छ । नारायणगढ क्याम्पाचौरमा आयोजना गरिएको आमसभालाई ओलीलगायत एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, राप्रपा उपाध्यक्ष विक्रम पाण्डेलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

आमसभा दिउँसो १२ बजेदेखि सुरु हुँदै छ । ओलीले भने दिउँसो २ बजे मात्रै सम्बोधन गर्ने छन् । आमसभाको लागि मञ्च तयार पार्ने काम भइरहेको छ । गठबन्धनका दलले केन्द्रीय बसपार्कमा आयोजना गरेको आमसभाको मञ्च पानीले डुबानमा परेपछि एमालेले क्याम्पाचौरमा आमसभा गर्न लागेको हो । आमसभाको तयारी बारे एमाले जिल्ला प्रचार विभागले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको थियो ।

भरतपुर महानगरपालिकामा एमाले–राप्रपा तालमेल गरेका छन् । भरतपुरको मेयरमा एमालेका विजय सुवेदी र उपमेयरमा राप्रपाकी हिमला गुरुङको उमेदवारी रहेको छ । मौन अवधी सुरु हुन तीन दिन मात्रै बाँकी रहँदा उमेदवारहरुले चुनावी घरदैलोलाई तीव्र बनाएका छन् ।

यसअघि पाँच दलीय गठबन्धनले वैशाख २२ गते भरतपुरमा चुनावी सभाको आयोजना गरेको थियो । गठबन्धनका नेताहरुले गरेको विरोध र आरोपको जवाफ आज ओलीले सार्वजनिक कार्यक्रम मार्फत दिँदै हुनुहुन्छ ।