जनता टाइम्स

२५ बैशाख २०७९, आईतवार २०:३५

बुबा ! मलाई आर्शिवाद दिनोस भन्दै केशव स्थापितसँग बालेन आएपछि


काठमाडौं, बैशाख २५ । काठमाडौं महानगरपालिकाको निर्वाचन प्रचार प्रशारको क्रममा आइतवार गजवको दृष्य देखियो । बैशाख ३० गते हुने निर्वाचनमा नगरवासीको मन जितेर निर्वाचित हुँदै काठमाडौं महानगरपालिका हाँक्ने योजनासहित अघि बढनुभएका नेकपा एमालेका मेयरका उम्मेदवार केशव स्थापितसँग अर्का स्वतन्त्र उम्मेदवार बालेन साहको जम्काभेट भएपछि माहोल एकाएक तातियो ।

दुवै उम्मेदवार आफ्नो टीमसहित घरदैलो अभियानमा हुनुहुन्थ्यो । एउटा ठूलो समुहसहितको टोली ‘भोट के मा सूर्यमा, केशव स्थापित सुनिता डंगोल जिताउनै पर्छ’ भन्दै अघि बढिरहेका थिए । अर्काेतर्फबाट भोट के मा लौरोमा, बालेन साह जिन्दावाद’ भन्दै आइरहेको थियो । दुवै उम्मेदवारको जम्काभेट भयो ।

एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका मेयरका उम्मेदवार स्थापितले मुस्कानसहित स्वागत गर्नुभयो भने बालेनले नमस्कार फर्काएर नमै शैली प्रस्तुत गर्नुभयो । पछिल्लो समय सामाजिक सञ्जालमा निकै चर्चामा आउनु भएका स्वतन्त्र उम्मेदवार बालेन र एमाले उम्मेदवार स्थापितसहितको टोलीको भेट आज पनि वडा–३१ को घर–दैलो कार्यक्रमममा भएको हो ।

केही दिन अघि मात्रै बालेनले नेकपा (एमाले) तर्फका उम्मेदवार केशव स्थापितलाई आफ्नो ‘ब्राण्ड एम्वेस्डर’ भन्दै सेन्टिमेण्ट लिने प्रयास गर्नुभएको थियो । सो क्रममा स्थापितसँग जम्काभेट हुँदा बालेनले आशिर्वाद माग्नुभयो । स्थापितले टाउकोमा हात राखेर राम्रो इञ्जिनियर हुनुस भन्नुभयो ।

रणनीतिक राजनीतिमा माहिर स्थापितलाई बालेनले आफ्नो हात तानेर ‘बुबा मलाई आर्शिवाद दिनुहोस’ भन्दै टाउकोमा राख्न लगाएपछि ‘सफल इञ्जिनियर बन्नु’ भन्दै आर्शिवाद दिनुभएको हो । सो क्रममा केहीबेरपछि बालेनले स्थापितसँग अंकमाल गर्नुभएको थियो । काठमाडौं महानगरपालिकामा स्थापित र सामाजिक सञ्जालमा बालेन अगाडि रहेको तथ्यले देखाएको छ ।