जनता टाइम्स

२५ बैशाख २०७९, आईतवार २०:५५

एमाले उपाध्यक्ष पौडेल आफैं चुनावी सभाको फोहोर उठाउन थालेपछि…


काठमाडौं, बैशाख २५ । नेकपा एमाले रूपन्देहीले बुटवलमा आइतबार आयोजना गरेको चुनावी सभाको फोहोर व्यवस्थापनमा एमाले उपाध्यक्ष विष्णु पौडेल आफैं खटिनुभएको छ ।

बुटवल ११ देविनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसको खेल मैदानमा भएको चुनावीसभा सकिएपछि नेता पौडेलको नेतृत्वमा एमाले सचिव छविलाल विश्वकर्मा, बुटवल उपमहानगरपालिकामा नगर प्रमुखका उम्मेदवार बाबुराम भट्टराईलगायत स्थानीय नेता तथा कार्यकर्ताहरुले कार्यक्रम स्थलको फोहोर संकलन गरि व्यवस्थापन गर्नुभएको थियो । नेताको सम्बोधन सकिएर कार्यक्रममा सहभागी घर फर्किएपछि कार्यक्रमस्थलमा फालिएको फोहोर टिप्न नेता पौडेल आफैं अघि सरेपछि अरू नेता कार्यकर्ता पछि पछि लागेका थिए।

सहभागिले फालेका प्लाष्टिकका बोत्तल, बिस्कुट, चाउचाउलगायतका खोललाई नेता कार्यकर्ता आफैंले संकलन गरि व्यवस्थापन गरेको एमाले बुटवल नगर अध्यक्ष किसन ज्ञवालीले जानकारी दिनुभयो ।