जनता टाइम्स

२५ बैशाख २०७९, आईतवार २१:१५

काठमाडौंलाई बिना पर्खालको खुल्ला काठमाडौं बनाउने घोषणा


काठमाडौं, बैशाख २५ । नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार दिनुभएका नेता केशव स्थापितले आफू मेयर बनेपछि काठमाडौंलाई बिना पर्खालको खुल्ला काठमाडौं बनाउने घोषणा गर्नुभएको छ । आईतवार काठमडौंमा आयोजित वागमती किनारका पालिकाहरुमा प्रमुख र उपप्रमुखका उम्मेदवारहरुसँगको अन्तरक्रिया तथा प्रतिवद्धता कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

मेयरका उम्मेदवार स्थापितले अझै पनि काठमाडौंमा एक तिहाई भाग खुला भएको दाबी गर्नुभयो । उहाँले काठमाडौं भित्र रहेका २४७ वटा निजी तथा सरकारी ठाउँमा लगाएका पर्खाल भत्काउने र सबैलाई प्रवेश दिने व्यवस्था गर्ने घोषणा गर्नुभयो । मेयरका उम्मेदवार स्थापितले स्वीट्जरल्याण्ड पार्कमा अक्सिजन प्लान्ट स्थापना गर्ने र त्यसको लागत महानगरे व्यहोर्ने घोषणा बताउनु भयो । उहाँले काठमाडौंमा ४८ अर्ब राजश्व उठाउन बाँकी रहेकोले आफू मेयर भएपछि हरेक दिन जनताको गुनासा सुनेर तत्काल समस्या समाधान गर्ने घोषणा गर्नुभयो । मेयरका उम्मेदवार स्थापितले नदीलाई सानो बनाएर दायँबायाँबाट सडक निकाल्ने र नदी क्षेत्रलाई व्यवस्थित गर्ने प्रतिवद्धता जनाउनु भयो ।मेयरका उम्मेदवार स्थापितले भन्नुभयो, ‘काठमाडौंमा नो वाल । काठमडौंमा खुला ठाउँ नै छैन भन्छन् त्यो होइन ।

अझै पनि काठमाडौंमा एकतिहाई भाग खुला छ । राजदरवारको भित्र राजाले के के गर्नुथियो होला, त्यहाँ ६०० रोपनीमा वाल लगाएको छ । किन त्यो वाल लगाएको ? त्यसरी वाल लगाएको २४७ वटा ठाउँ छ, निजी पनि छ त्यसलाई तोड्ने हो । हामीले सबै सार्वजनिक ठाउँमा प्रवेश दिनुपर्छ । त्यो ओपन काठमाडौं, नो वाल । त्यहाँ अपराध गर्ने भएपो पर्खाल लगाउनु ? मेरो खुबी भनेकै अलिअलि तोडफोड गर्ने भन्ने छ, त्यो गरौँला भन्ने प्रतिज्ञा हो । वरिपरि ६० वटा स्थान छ । स्वीट्जरल्याण्ड पार्क थाहा छ । त्यहाँ केही पनि छैन, त्यसलाई हामीले अक्सिजन प्लान्ट बनाउने हो । त्यसको सबै लागत काठमाडौं महानगरले व्यहोर्छ । हाम्रो राजश्व ३० अर्ब हुन्छ, उठाउनु पर्ने ४८ अर्ब रहेछ । म मेयर भएको एकदिन सेलिब्रेशन हुन्छ, ९९ दिनको सार्वजनिक सुनुवाई हुन्छ । त्यसमा म सबै जनताको गुनासो सुन्नेछु ।

तत्काल सबैको समस्याको समाधान गर्नेछु । सरभरको लागि मैले अलिअलि अध्ययन गरेको छु, कमरेड माधवको पालोमा यहाँको जतिपनि रिभर ट्रिटमेण्टको बारेमा त्यो अध्ययनलाई म लागू गर्छु । त्यसमा के छ भने नदीलाई सानो गरेर दायाँबायाँ बाटो निकाल्ने हो । नदीको छेउको त अझै पनि २० मिटर हाम्रै हो नि ।’मेयरका उम्मेदवार स्थापितले पशुपति विकास कोष कुनैपनि हालतमा महानगरको मातहतमा आउनुपर्ने बताउनु भयो । उहाँले सदस्यसचिव बनेर जानेहरुले कसलाई कति ख्वाउने भन्ने चर्चामात्र हुने र लुट्ने बाहेकको काम नहुने भन्दै महानगले मातहतमा राखेर व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । मेयरका उम्मेदवार स्थापितले शव जलाउने ठाउँको डिजाइन आफूले गरिसकेको दाबी गर्नुभयो ।मेयरका उम्मेदवार स्थापितले भन्नुभयो, ‘पशुपति विकास कोष भनेको कुनै हालतमा काठमाडौं महानगरपालिका अन्तर्गत आउनुपर्छ । नभए काम हुँदैन । को एक जना सदस्यसचिव भएर आउने, कसलाई कति ख्वाउँछ भनेर सार्वजनिक चर्चा गर्ने, लुट्ने बाहेक केही हुन्छ । मेरो मातहतमा भयो भने नै मैले व्यवस्थापन गर्ने हो । लाश जलाउने ठाउँ मैले डिजाइन गरेको छु । मैले डिभाइस डिजाइन गरेको छु । त्यो यस्तो गज्जबको हुन्छ तपाई मलामी गयो भने मै सुताँै, मरौँ जस्तो त्यस्तो पो हुनुपर्छ । त्यस्तो म बनाउँछु ।’