बैतडी, बैशाख २६ । कुटपिटको आरोपमा बैतडीको डिलाशैनी गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार बनेका लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । डिलाशैनी गाउँपालिका ५ बिनाबस्ती घर भई पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सहप्राध्यापक रामदत्त जोशीमाथि अध्यक्षका उम्मेदवार राना र उहाँका कार्यकर्ताले कुटपिट गरेको आरोप लागेको छ । सोही आरोपमा नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।
स्वतन्त्र उम्मेदवारका पक्षमा प्रचार गरेको भन्दै राना र उहाँका कार्यकर्ताले सोमबार कुटपिट गरेको आरोप लागेको उहाँले बताउनुभयो । कुटपिटबाट जोशीको घुँडामा चोट लागेको छ । गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न अध्यक्षका उम्मेदवार राना र घाइते पक्षबीच सोमबार दिउँसो गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । राना सत्ता पक्षीय गठबन्धनको तर्फबाट डिलाशैनीमा साझा उम्मेदवारसमेत हुनुहुन्छ ।














प्रतिक्रिया दिनुहोस्