जनता टाइम्स

२६ बैशाख २०७९, सोमबार १७:४५

काँग्रेसका कार्यकतालाई फेरी धम्की : बागी उठेर पार्टी हार्‍यो भने कुनै पनि हालतमा माफी गरिने छैन


कैलाली , बैशाख २६ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागी उम्मेदवारलाई कुनै पनि हालतमा माफी नदिने चेतावनी दिनुभएको छ । आज सोमवार कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले बागीलाई कारबाही गर्ने चेतावनी दिनुभएको हो ।

‘स्थानीय सरकार पनि जित्न जरुरी छ। बागीले उम्मेदवारी फिर्ता लिनुपर्छ’, देउवाले भन्नुभयो, ‘अहिले भन्न चाहन्छु । बागी उम्मेदवारलाई कुनै पनि हालतमा सहिने छैन । बागी उठ्दा हामीले पहिले पनि हारेकै हो । अहिले पनि बागी उठेर पार्टी हार्‍यो भने कुनै पनि हालतमा माफी गरिने छैन ।’

सम्बोधनकै क्रममा देउवाले पालिका चुनावमा एमालेलाई जिताए स्थानीय तह नै भङ्ग हुन सक्ने बताउनुभयो । ‘संसद् विघटन गर्ने एमालेले जिते, उसले स्थानीय तह नै विघटन गर्नसक्छ’, उहाँले भन्नुभयो, ‘संसद् विघटन गर्ने, चल्न नदिने एमालेलाई जिताउनु भनेको स्थानीय तह, प्रदेश र संसद् नै विघटन गर्न सक्छ ।’