जनता टाइम्स

२६ बैशाख २०७९, सोमबार १९:३१

नारायणकाजीलाई गृह पालिकामै जिताउन हम्मेहम्मे


गोरखा, २६ वैशाख । पूर्व उपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई यतिबेला चुनावी सभालाई सम्बोधन गर्दैमा भ्याईनभ्याई छ । बिहान ८ बजेदेखि बेलुका ११ बजेसम्म उहाँ निर्वाचन क्षेत्रमा चुनावी सभालाई सम्बोधन गर्ने, मतदाता भेट्ने अनि भोट माग्ने काममै व्यस्त हुनुहुन्छ । श्रेष्ठ आफ्नो निर्वाचन क्षेत्रका पालिकामा माओवादीका उम्मेदवारलाई जिताउन भन्दै घुँडा धसेरै लागिपरेको देखिन्छ । तर, उहाँलाई आफ्नै गृहपालिका सिरानचोकमा उम्मेदवार जिताउन हम्मेहम्मे पर्ने देखिन्छ ।

यस गाउँपालिकामा ८ वटा वडा छन् । स्थानीय निर्वाचन २०७४ बाट यस गाउँपालिकामा उहाँको गृह वडामा मात्रै माओवादीले जित हासिल गरेको थियो । सिरानचोक गाउँपालिका वडा नम्बर ८ मा झटकप्रसाद दवाडीले माओवादीको तर्फबाट जित्नुभएको थियो । दवाडी कांग्रेसमा लोकप्रिय पाको नेताको रूपमा चिनिनुहुन्थ्यो । तर, चुनावमा उहाँलाई कांग्रेसले टिकट नदिएपछि माओवादीबाट उम्मेदवार बन्नुभएको थियो ।

यद्यपि गाउँपालिका अध्यक्षमा भने माओवादीका उम्मेदवार एक सय ६७ मतले मात्रै पराजित हुनुभएको थियो । अघिल्लो निर्वाचनबाट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजु गुरुङ ३ हजार ४०२ मतका साथ निर्वाचित हुनुभएको थियो भने निकटमा प्रतिद्वन्द्वी माओवादीका नवराज पुडासैनी ३ हजार २३५ मत प्राप्त गरेर पराजित हुनुभएको थियो ।

यस्तै, एमालेका प्रेम बहादुर गुरुङले १ हजार ७४० र तत्कालीन नयाँ शक्ति पार्टी (अहिलेको जसपा) का महेश कुमार गुरुङले १ हजार ४३१ मत पाउनुभएको थियो । स्थानीय निर्वाचन २०७४ को मतपरिणाम नियाल्दा यहाँ कांग्रेस पहिलो, माओवादी दोस्रो, जसपा र एमाले तेस्रो शक्तिको रूपमा देखिएको थियो । ८ वडा रहेको यस पालिकामा ६ वटा कांग्रेस, एक माओवादी र एक जसपाले नेतृत्व गरेका छन् भने पालिका अध्यक्ष उपाध्यक्ष दुवै कांग्रेसका हुन् ।

र्यपालिकामा पनि कांग्रेसको स्पष्ट बहुमत थियो । गृहपालिका भए पनि जनसंगठन बलियो नहुँदा श्रेष्ठलाई आफ्नो गृह पालिकामा पार्टीको उम्मेदवार जिताउन हम्मेहम्मे पर्ने देखिन्छ । आसन्न निर्वाचनमा यस पालिकामा कांग्रेसको तर्फबाट ज्ञानेन्द्र गुरुङ, माओवादीको तर्फबाट नवराज पुडासैनी, एमालेबाट देवराज श्रेष्ठ, जसपाबाट चित्र बहादुर गुरुङको प्रतिस्पर्धा हुने देखिन्छ ।