ललितपुर, बैशाख २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पालिका चुनावपछि सत्तारूढ गठबन्धन समाप्त हुने दाबी गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले गन्तव्य नै नभएको भन्दै सत्तारूढ गठबन्धन वैशाख ३० गतेको पालिका चुनावपछि समाप्त हुने बताउनुभएको हो । आज सोमवार ललितपुरको जावलाखेलमा पार्टीले आयोजना गरेको चुनावी सभामा बोल्दै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै यो गठबन्धनको गन्तव्य के हो भन्ने थाहा नभएको जिकिर गर्नुभयो ।
यही प्रश्न प्रचण्डलाई सोध्यो भने उनले आफ्नी छोरीलाई भोट हाल्नु नै गठबन्धनको गन्तव्य हो भन्ने जवाफ दिने अध्यक्ष ओलीको कटाक्ष थियो । उहाँले भन्नुभयो, ‘शेरबहादुर देउवालाई सोध्नुस् त यो गठबन्धन के हो भनेर रु उहाँ आफैँले सोध्नुहुनेछ गठबन्धन भनेको के ? उल्टै निहुँ खोज्या भन्नुहुन्छ । प्रचण्डलाई सोध्यो भने छोरीलाई भोट हाल्ने हो भन्छन् । माधव नेपालले अर्कै भन्लान् । यिनीहरूको गन्तव्य नै केही छैन । भोलि कता जाने हो ? केही थाहा छैन यिनीहरूलाई । अब ३० गतेपछि यो पाँच दलीय गठबन्धन बाग्मतीमा सलल । अब गठबन्धन चल्नेवाला छैन ।’
ओलीले चुनावको बेला आफ्ना पार्टीका कार्यकर्तामाथि गुण्डागर्दीको शैलीमा आक्रमण गर्ने काम सत्तारूढ दलहरूबाटै भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । सत्तारूढ गठबन्धनले जनतालाई तर्साउने काम गरिरहेको पनि उहाँले दोहोर्याउनुभयो ।













प्रतिक्रिया दिनुहोस्