जनता टाइम्स

२९ बैशाख २०७९, बिहीबार ०८:४३

काठमाडौं उपत्यकामै १८५ मतदानस्थल संवेदनशील


काठमाडौं,  बैशाख २९  । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै स्थानीय प्रशासनले उपत्यकाका १८५ मतदानस्थललाई संवेदनशीलको सूचीमा राखेको छ । जसअनुसार काठमाडौंमा ११५, ललितपुरमा ५० र भक्तपुरमा २० मतदानस्थल संवेदनशीलको सूचीमा छन् । भौगोलिक विकटता, चुनावविरोधी समूहको गतिविधि तथा यातायात, सञ्चार र जनघनत्वको आधारमा मतदानस्थलाई अति संवेदनशील र संवेदनशीलको सूचीमा राखिएको हो । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले सुरक्षा खतराको महसुस गरेर मतदानस्थलहरूलाई संवेदनशील सूचीमा राखिएको र अतिरिक्त सुरक्षाकर्मी परिचालन गरेको बताउनुभयो।

‘सुरक्षाको दृष्टिकोणले संवेदनशील क्षेत्रबारे प्रकाशमा ल्याउन मिल्दैन,’ उहाँले भन्नुभयो, ‘बुथको सुरक्षा क्रमशः पहिलो घेरामा रहेर म्यादी, दोस्रोमा प्रहरी र तेस्रोमा सशस्त्रले गर्नेछन् ।’ उहाका अनुसार सेना ‘मोबाइल टोली’ को रुपमा सुरक्षामा खटिनेछ । ‘प्रहरीमा डीएसपी, सशस्त्र र आर्मीमा मेजरको कमान्ड रहनेछ,’ उहाँले भन्नुभयो ‘मतदानस्थलमा सुरक्षाकर्मी र कर्मचारी मतपत्रसहित पुगिसकेका छन् ।’ काठमाडौंमा ३२० मतदानस्थल र ३ लाख २४२ मतदाता छन् ।

त्यस्तै, ललितपुरको ठुलादुर्लुङ, कालेश्वर, गिम्दी, आश्राङलगायतका ३० मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको छ । पहाडी भूगोलका यी क्षेत्र विकट मानिन्छन् । ललितपुर प्रहरी प्रवक्ता एसपी रुद्रबहादुर शाहीले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको जानकार दिनुभयो। ‘जिल्लाको दक्षिण भेगमा प्रहरीसँगै सेनाले पनि निगरानी बढाएको छ,’ उहाँले भन्नुभयो ‘संवेदशनशील क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

सहरी क्षेत्रमा पनि सुरक्षा

व्यवस्था कडा पारिएको छ ।’ ललितपुरमा २८८ मतदान केन्द्र छन् भने २ लाख ४३ हजार ८८४ जना मतदाता छन् । भक्तपुर प्रशासनले पनि २० वटा मतदानस्थललाई संवेदनशील सूचीमा राखेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सुरक्षाका कारण संवेदनशील सूचीमा राखिएका मतदानस्थलको नाम खुलाउन नमिल्ने बताउनुभयो । निर्वाचनका लागि जिल्लाभर म्यादी प्रहरी र आर्मीबाहेक प्रहरी र सशस्त्रका मात्रै १ हजार ५ सय सुरक्षाकर्मी खटाएको उहाँले जानकारी दिनुभयो ।

‘मतदानस्थलमा संरचना बनाउन पनि सुरु गरिसकेका छौं,’ उहाँले भन्नुभयो । भक्तपुरमा २१९ मतदान केन्द्र छन् भने १ लाख ९९ हजार मतदाता छन् । प्रहरीले निर्वाचनलाई लक्षित गरी अन्य मतदानस्थलमा पनि सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ । ‘मोबाइल, मोटरसाइकल र पैदल गस्ती बढाइएको छ । एकान्त, भीडभाड र जनघनत्व बढी भएको क्षेत्रमा सिभिल ड्रेसमा पनि प्रहरी परिचालन गरिएको छ,’ एक उच्च प्रहरी अधिकारीले भन्नुभयो।