जनता टाइम्स

२९ बैशाख २०७९, बिहीबार ०८:५१

मौन अवधिमा भोट माग्न हिंडेको भन्दै माओवादी र जसपाका उम्मेदवारलाई कांग्रेस कार्यकर्ताले रोके


गोरखा, बैशाख २९ । मौन अवधिमा गाडी चढेर चुनाव प्रचारमा हिंडेको भन्दै माओवादी केन्द्र गोरखाका कृष्ण राना र जनता समाजवादी पार्टी (जसपा)का नारायण खत्रीलाई नेपाली कांग्रेसका कार्यकर्ताहरुले रोकेका छन् ।माओवादी केन्द्रको तर्फबाट गोरखा नगरपालिकाको मेयरमा उम्मेदवारी दिनुभएका राना र जसपाबाट उपमेयरमा उम्मेदवारी दिएका खत्री बुधबार साँझ ग३च १८६४ नम्बरको स्कारपिओ गाडीमा गोरखा नगरपालिका(१० स्थित बिरेन्चोकमा फेला परेका थिए । संयुक्त रुपमा चुनावी प्रचारप्रसार गर्दै हिंडेका उहाँहरूलाई तीनघरेमा कार्यक्रम गरेर कालीमाटीको अर्को कार्यक्रममा जाँदै गर्दा आफूहरूले रोकेको स्थानीय विनोद थापाले जानकारी दिनुभयो । ‘गाडी रोक्दारोक्दै राना भागे’ उहाँले भन्नुभयो , ‘खत्रीचाहिं अलि अगाडि नै गाडीबाट ओर्लिसकेका रहेछन् ।’

गाडी रोकेर प्रहरीलाई खबर गरिएको उहाँले बताउनुभयो । गाडीमा चुनाव प्रचार प्रसारका लागि प्रयोग भएको पर्चा, पम्प्लेट, पार्टीको झण्डा र स्पिकर पनि भेटिएको उहाँले जानकारी दिनुभयो । प्रहरीले भने गाडीलाई केहीबेर नियन्त्रणमा लिएर छाडिएको बताएको छ । ‘हामी पुग्दा गाडीभित्र चालकबाहेक कोही थिएन,’ डिएसपी लिलाराज लामिछानेले भन्नुभयो, ‘कोही नभएपछि सम्झाइ बुझाइ गरेर गाडीलाई छाडिदियौं ।’