धनगढी, २९ बैशाख । कैलालीको गोदावरी नगरपालिका ६ मा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार जग्गु चौधरीको घरमै पसेर नेपाली कांग्रेसका कार्यकर्ताहरुले खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट वडाध्यक्ष जग्गु चौधरीकी छोरी २३ वर्षीया लक्ष्मी चौधरी, भाइ विन्तीराम चौधरी, भाइ बुहारी बसन्ती चौधरी, भतिजा रविन चौधरी र दिपक कठायत घाइते हुनुभएको छ ।
बुधबार राति गोदावरी नगरपालिकाको वडा नम्बर ६ बडेहा भन्ने स्थानमा नेकपा एमालेका उम्मेदवार जग्गु चौधरीको घरमै पसेर यस्तो घटना भएको हो । खुकुरी प्रहारबाट उम्मेदवारका भाइ विन्तीराम चौधरी सबैभन्दा बढी घाइते हुनुभएको छ । उहाँको पाखुरामा खुकुरीको गहिरो चोट लागेको छ । उहाँलाई उपचारका लाग अत्तरियामा रहेको पदमा अस्पतालमा भर्ना गरिएको छ । घाउ गहिरो भएकाले उनको शल्यक्रिया गरिएको पदमा अस्पतालका डाक्टर नरबहादुर मौनीले बताउनुभयो । यस्तै, उम्मेदारका भतिजा रविन चौधरीको पनि कान्छी औंला काटिएको छ । हामीहरु खाना खाएर सुत्ने तयारीमा थियौं, नेपाली कांग्रेसका युवाहरु प्रकाश ओली, विनोद शाहसहितका १४÷१५ जना टोली आयो, उनीहरु मदिरा पिएर लठ्ठिएका थिए। एकाएक घरभित्र पसे, जग्गु चौधर कता छ भनेर सोधे, हामीले उनलाई अँध्यारोमा लुकाइ दियौं, अनी मलाई पहिला लठ्ठीले हान्यो, मैले लठ्ठी खोसे, त्यसपछि खुकुरीले घाँटीमा हान्न खोजेका थिए, मैले हातले छेकेपछि हात काटियो,ु पदमा अस्पतालमा उपचारत विन्तीराम चौधरीले भन्नुभयो ।
उहाँले आफूहरुको जित पक्का भएपछि, कांग्रेसका कायकर्ताहरु आत्तिएर आक्रमणमा उत्रिएको बताउनुभयो । उम्मेदवार जग्गु चौधरीको छोरीको पिठ्युमा चोट लागेको छ । ‘मलाई भित्रबाट तानेर बाहिर आँगनमा ल्याए, खुकुरीले हान्न खोजेका थिए, म भागेँ, अनी खुकरीको उल्टो भागले हाने। पिठ्युँमा चोट लाग्यो,ु लक्ष्मीले भन्नुभयो । बडेहा गाउँमा थारु समुदायको ठूलो बस्ती छ । उनीहरुले घर आँगनमा खाना खाएर बसिरहेको थाहा पाएपछि, कांग्रेसका कायकर्ताको टोली त्यहाँ गएको जनाइएको छ । घरमै पसेर आक्रमण गर्दा पनि प्रहरीले सहयोग नगरेको पीडितले गुनसो गरे ।
‘प्रहरीलाई खबर गर्यौं, पाँच मिनेटको समयमा पुग्नुपर्ने प्रहरी एक घण्टा ढिलो आयो, अहिले प्रहरी सत्ता पक्षको पक्षपोषण गरिरहेको छ, घाइते विन्तीरामले भन्नुभयो । उम्मेदवारको घरमै पसेर खुकुरी प्रहार गरेपछि नेकपा एमालेका केन्द्रीय सचिव एवम सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट, पोलिटब्यूरो सदस्य तथा कैलाली ईञ्चार्ज नारदमुनी राना, प्रदेश सचिव धर्मराज पाठक, मेयरका उम्मेदवार गोकर्ण भट्टसहितको टोलीले घाइतेलाई अस्पतालमै पुगेर भेट्नुभएको छ । प्रदेश ईञ्चार्ज भट्टले अहिले एमालेप्रति जनताको आकर्षण देखेर सत्तापक्ष अत्तालिएर आक्रमणमै उत्रिरहेको बताउनुभयो। ‘सत्ता पक्षले प्रहरी र प्रशासनलाई आफ्नो अनुकूल चलाइ रहेको छ, यस्तै गरियो भने चुनावको निष्पक्षतामा पनि प्रश्न चिन्ह उठ्छ, उहाँले भन्नुभयो । मंगलबार राति कैलालीकै घोडाघोडी नगरपालिकामा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार ममताप्रसाद चौधरीको पनि कांग्रेस कार्यकर्ताले घर घेरेका थिए भने बाजुरामा पनि एमालेका कार्यकर्तामाथि आक्रमण भएको नेता भट्टले बताउनुभयो । आक्रमण गर्नेहरुलाई प्रहरीले अहिलेसम्म पनि पक्राउ भने गरेको छैन । इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी प्रमुख डीएसपी रविन्द्रराज पाण्डेले केही नामहरु पीडितले दिएको र उनीहरुको खोजी भइरहेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्