काठमाडौँ, बैशाख ३० । निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । मतदान गर्ने क्रममा मत संकेत समेत देखाएर खिचेको तस्बिर सार्वजनिक गरेको विषयलाई लिएर कारबाही किन गर्नु नपर्ने हो भनेर आयोगले स्पष्टीकरण सोधेको हो ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पूर्वप्रधानमन्त्री भट्टराईलाई प्रष्टीकरण सोधेको जानकारी दिनुभयो । यहाँलाई मतदान गर्ने क्रममा मत संकेत गर्ने ठाउँमा कोही अर्को व्यक्तिलाई साथ लैजानु हुँदैन भन्ने जानकारी थियो, थिएन ? यहाँ देशको पूर्वप्रधानमन्त्री र जिम्मेवार दलको नेताले मत संकेत गर्ने गोप्य कक्षमा के कसरी कुनै अर्को फोटो खिच्ने व्यक्ति साथ लानुभएको थियो ? यहाँले मोबाइल वा क्यामेरा के कसरी गोप्य कक्षमा लानु भयो ? आयोगले भट्टराईलाई सोधेको छ, मत संकेत गर्ने गोप्य कक्षमा फोटो खिच्ने कुनै सामग्री लान नहुने र मत संकेत गरेको मतपत्रको फोटो खिच्न नहुने कानुनी व्यवस्थाको अवज्ञा गर्दै के कति कारणले निसिद्ध स्थानमा लान नमिल्ने सामग्रीमार्फत फोटो लिन लगाई सो फोटो सार्वजनिक गर्नु भएको हो ? भट्टराईलाई निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा ७ को उपदफा २ बमोजिम किन कारबाही गर्नु नपर्ने हो ? भनेर आयोगले प्रश्न गरेको छ । पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र जवाफ पेस गर्न आयोगले समय दिएको छ ।
यसैवीच निर्वाचन आयोगले भट्टराईले मतदान गरेको फोटो खिच्न दिएको आरोपमा मतदान अधिकृतलाई समेत स्पष्टिकरण सोधेको छ ।आयोगले गोरखाको पालुङटार नगरपालिका अन्नपूर्ण मावि खोप्लाङका मतदान अधिकृत प्रदीपकुमार रुपाखेतीलाई स्पष्टिकरण सोधेको हो ।
‘निज डा. बाबुराम भट्टराईले फोटो लिने सामग्री (मोबाइल वा क्यामेरा) लैजाँदा के कति कारणले सम्बन्धित मतदान अधिकृतले फोटो लिने सामग्री लानबाट रोक्नु भएन ?’ स्पष्टिकरणमा भनिएको छ? ‘मतदान अधिकृतलाई झुक्याएर फोटो खिच्ने सामग्री लगेर मतपत्रमा गोप्य मत संकेतको फोटो खिचेको भए किन निजलाई तत्काल कारवाही भएन भनेर आयोगले साँचो विवरण खुलाई यथासिघ्र प्रतिवेदन पठाउन आयोगले भनेको छ ।













प्रतिक्रिया दिनुहोस्