जनता टाइम्स

२८ असार २०७६, शनिबार १४:०४

महेश बस्नेत र बासुदेव थापालाई जनताको दह्रो साथ : हनुमन्ते करिडोर निर्माण कार्य रोक्नेबिरुद्ध प्रतिकारको घोषणा


भक्तपुर, असार २८ । पूर्वमन्त्री तथा सांसद महेश बस्नेत र सूर्यबिनायक नगरपालिकाका मेयर बासुदेव थापासहितको टोलीले बिहीवारदेखि परेको अबिरल बर्षासँगै हनुमन्ते खोलाको डुवानमा परेको क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ । शुक्रवार दिउसोबाट डुवानमा परेका बस्तीहरुको पानीको सतह केही कम भएलगत्तै आज बिहान निरीक्षण गरिएको हो ।

सांसद बस्नेत र मेयर थापाले भक्तपुरमा विहिवारदेखि आएको अविरल वर्षाका कारण भएको डुवान क्षेत्रमा स्थालगत निरीक्षणसँगै स्थानीयवासीसँग त्यहाँ वर्षाका कारण भएका समस्या तथा आगामी दिनमा गर्नुपर्ने कार्यहरुको बारेमा प्रत्यक्ष छलफल पनि गर्नुभयो । सांसद बस्नेतको विषेश पहलमा शुरु भएको पहिलो चरणको हनुमन्ते नदीको करिडोर निर्माणमा अवरोध भएकै स्थानबाट बाढी बसेको हो । करिडोर निर्माण भएको कारण अघिल्लो वर्षझैं अत्यधिक डुवान हुने क्षेत्र राधेराधे, थिमी लगायतका क्षेत्रहरुमा यो पटकको वर्षाले ठूलो क्षती गर्न सकेन ।

सम्वादका क्रममा सवैले राधेराधे, थिमी लगायतका क्षेत्रमा त करिडोर निर्माणले गर्दा डुवान हुन सकेन तर भक्तपुरकै बालकोट, सागवारी, भक्तपुर नगरपालिका लगायतका क्षेत्रहरुमा डुवानका कारण स्थानीयवासीले दुःख झेल्नु परेको र आगामी दिनमा उक्त क्षेत्र तथा समग्र हनुमन्ते नदीको करिडोर पूर्ण रुपमा निर्माण कार्य सम्पन्न गरी आगामी वर्षहरुमा भक्तपुरले बाढी तथा डुवानको समस्याबाट मुक्त गराउने कार्यमा सवै एक ढिक्का भई अघि बढ्न आग्रह गरेका छन् ।तर उक्त करिडोर निर्माण कार्य पछिल्लो समय रोकीएकोमा स्थानीयवासी निकै आक्रोसित बनेका हुन । करिडोर निर्माण सम्पन्न भएपश्चात आम भक्तपुरवासीले सधैंको लागि डुवानको समस्या समाधान हुने भन्दै विभिन्न वहाना तथा व्यक्तिगत स्वार्थका कारण करिडोर निर्माण कार्य रोक्न नहुने बताए ।

विकास निर्माणको काम गर्न पनि नसक्ने अनि गर्नेलाई पनि बीच बाटोमा नै आएर छेक्न खोज्ने जनप्रतिनिधिहरुको विरुद्धमा व्यापक गुनासोको साथमा आक्रोस समेत स्थानीयवासीले व्यक्त गरे । आक्रोस व्यक्त गर्दै स्थानीयवासीले करिडोर निर्माण कार्य रोके रोक्नेको विरुद्धमा जस्तोसुकै प्रतिकार गर्न समेत बाध्य हुने चेतावनी दिए । स्थानीयवासीले करिडोर निर्माणमा सांसद बस्नेतलाई सदैव साथ रहने भएकाले कसैको व्यक्तिगत फाईदाको लागि रोक्ने खोजिए त्यसलाई निस्तेज पारी अघि बढ्न आग्रह समेत गरेका छन् । बाढीका कारण विगतमा ठूलो क्षती व्यहोरेको भक्तपुरले यो वर्ष भने केही मात्रामा राहत पाएको छ ।

हनुमन्ते नदी सफाई अभियानको ७२औं हप्ताको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री बस्नेतको विशेष पहल तथा सूर्यबिनायक नगरपालिकाका थापाको संयोजनमा जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा कार्यकर्ता, नेपाली सेना, शसश्त्र प्रहरी, नेपाल प्रहरी, नेप्से म्याक, फूलवारी, वेभ ग्रुप, पातञ्जली नेपाललगायतका धेरै संघसंस्था तथा स्थानीयवासीको उपस्थितीमा अनुगमन गरिएको हो ।