जनता टाइम्स

१ जेष्ठ २०७९, आईतवार १६:११

कांग्रेस–एमाले र माओवादीले २०७४ मा जितेकामध्ये कहाँ गुमाए, कहाँ थपे ? (सूचीसहित)


अहिलेसम्म मतगणना सकिएका ३० ओटा पालिकामा गत निर्वाचनमा आएको परिणाम फेरिएको छ । गत निर्वाचनमा जितेकोमध्ये यसपटक गठबन्धन गरेर चुनावमा जाँदा पनि नेपाली कांग्रेसले गुमाएको छ भने नेकपा एमाले र माओवादी केन्द्र थप गर्न सफल भएको छ 

काठमाडौं, जेठ १ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भइरहेको मत गणनामा अहिलेसम्म ३० ओटा पालिकाको अन्तिम परिणाम आएको छ । प्राप्त परिणामअनुसार सत्तारुढ पाँच दलीय गठबन्धनबिरुद्ध एक्लै भिडेको नेकपा एमालेले १३ ओटा पालिका प्रमुख जितेर पहिलो स्थानमा रहन सफल भएको छ ।

एमालेपछि नेपाली कांग्रेस रहेको छ । कांग्रेसले ९ ओटा पालिका र नेकपा माओवादी केन्द्रले ६ओटा पालिकामा बिजय हासिल गरेको छ । नेकपा एकीकृत समाजवादीको भागमा निर्बिरोध बनेको २ पालिका प्रमुख रहेको छ । सो पार्टीले निर्वाचनबाट अहिलेसम्म एउटा पालिकामा पनि प्रमुख जितेको छैन । गत निर्वाचनमा यी ३० पालिकामध्ये नेपाली कांग्रेसले १४, एमालेले १२, माओवादीले दुई र स्वतन्त्र उम्मेदवारले दुई वटा जितेका थिए । तीमध्ये अहिलेसम्म कांग्रेसले ५ वटा पालिका गुमाएको छ भने एमालेले एउटा पालिका थपेको छ । माओवादीले पनि ४ वटा पालिका थपेको छ ।

एमालेले जितेका १३ मध्ये ६ वटा पालिका मात्र २०७४ मा उक्त पार्टीले जितेका पालिकाहरू हुन । बाँकी सात पालिका एमालेले गत चुनावमा अन्य दलले जितेकोबाट यसपटक आफ्नो पोल्टामा पार्न सफल भएको छ । एमालेले आफूले २०७४ मा जितेका मनाङको चामे र मनाङ डिस्याङ, डोल्पाको शे फोक्शुन्डो, बझाङको थलारा, तेह्रथुमको मेन्छयायेम र सोलुखुम्बुको खुम्बु पासाङल्हामुमा जित कायमै राखेको हो ।

त्यस्तै २०७४ मा नेपाली कांग्रेसले प्रमुख जितेका पालिकाहरू मुस्ताङको थासाङ, लोमान्थाङ र बारागुङ मुक्तिक्षेत्र, बझाङको साइपाल, म्याग्दीको मालिका र नवलपुरको बौदीकालीमा यसपटक एमाले एक्लैले जितेको छ । त्यस्तै गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारले जितेको मनाङको लो–घेकर पनि यसपटक एमालेले जितेको छ । एमालेले गत निर्वाचनमा आफूले जितेका मुस्ताङको घरपझोङ, गुल्मीको रेसुंगा, दार्चुलाको अपि हिमाल र नौगाड, डोल्पाको काइके पालिका र खोटाङको जन्तेढुंगा यसपटक गुमाएको छ ।

कांग्रेसले मनाङको नार्पाभूमि र नासोँ, हुम्लाको खार्पुनाथ, डोटीको बडीकेदार, बाग्लुङको तमानखोला, डडेलधुराको गन्यापधुरा र गुल्मीको गुल्मी दरबारमा गत निर्वाचनमा प्रमुख जितेको थियो। अहिले त्यसलाई कायमै राखेको छ । २०७४ मा एमालेले जितेकामध्ये मुस्ताङको घारप झोङ र गुल्मीको रेसुंगामा अहिले कांग्रेसले जितेको छ । तर, २०७४ मा जितेका र हालसम्म परिणाम आएकामध्ये सात पालिकाको प्रमुख पद नेपाली कांग्रेसले गुमाएको छ । तीमध्ये ६ पालिका प्रमुख एमालेले र एक पालिका प्रमुख माओवादीले जितेको छ ।

माओवादीले २०७४ मा जितेको डोल्पाको जगदुल्ला र बाग्लुङको ताराखोलामा जित कायम राखेको छ । अघिल्लोपटक कांग्रेसले जितेको दैलेखको नौमुले यसपटक माओवादीले जितेको छ । अघिल्लो पटक एमालेले जितेका खोटाङको जन्तेढुंगा, दार्चुलाको अपि हिमाल र नौगाड पनि माओवादीले जितेको छ । एकीकृत समाजवादीले अघिल्लो पटक एमालेले जितेको डोल्पाको काइके र अघिल्लो पटक स्वतन्त्र उम्मेद्वारले जितेको डोल्पाकै छार्काताङसोङमा निर्विरोध बनेको थियो ।