गुल्मी, जेठ १ । सहरी बिकासमन्त्री एवं नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीको वडामै नेकपा एमालेका उम्मेदवार बिजयी बनेका छन । मन्त्री झाँक्रीको मदाने गाउँपालिकास्थित वडामा नेकपा एसका वडाध्यक्षका उम्मेदवार एमालेसँग पराजित भएको छ।
नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धन गरे पनि एमालेलाई रोक्न असफल भएको हो । झाँक्री मतदाता रहेको वडा नं २ मा गठबन्धनका तर्फबाट समाजवादीलाई हराउँदै एमाले निर्वाचित भएको हो। सोवडामा एमालेका माधवप्रसाद भुसालले ७८५ मत ल्याउँदा समाजवादीका गोकर्ण सेन ओलीले ६२५ मत प्राप्त गरी पराजीत हुनुपरेको हो ।
वडा नं १ मा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका सुशील चन्दले ६९६ मत ल्याउँदा एमालेका प्रेम चन्द बोहोराले ५६२ मत पाउनु भएको छ । यस्तै वडा नं ३ मा एमालेलाई हराउँदै नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका चेत बहादुर सेनले ८७० मत ल्याउँदा एमालेका इश्वर बहादुर जिसीले ६५५ मत मात्र पाउनु भएको छ ।
यसैगरी वडा नं ४ मा पनि कांग्रेसकै प्रेमबहादुर सेन ओली विजयी हुनुभएको छ । उहाँले ५८९ मत ल्याउँदा एमालेका भीमप्रसाद भट्टराईले ३८५ मत मात्रै पाउनु भएको छ । मदाने वडा नम्बर ५ मा भने एमाले विजयी भएको छ। एमालेले ५२० मत पाउँदा कांग्रेसले ४१५ मत पाएको छ।
एमालेको पकड मानिने मदानेमा २०७४ मा एउटा वडा कांग्रेसले जित्दा बाँकी एमाले विजयी भएको थियो। अहिले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महेन्द्र बहादुर कुँवरले ३ हजार ५८४ मत पाई अग्रता लिनुभएको छ । यता एमालेका प्रेमबहादुर केसीले ३ हजार ५६८ मतका साथ पच्छ्याइरहनु भएको छ । उपाध्यक्षमा भने नेकपा एमाले ३ हजार ४१० मतका साथ अघि रहेको छ। प्रतिस्पर्धी माओवादीका उम्मेदवारले ३ हजार ३०४ मत ल्याएको छ। यसपालिकामा अव २ वटा वडाको मतगणना भइरहेको छ ।













प्रतिक्रिया दिनुहोस्