जनता टाइम्स

१ जेष्ठ २०७९, आईतवार २३:०६

बैतडीमा सत्तासाझेदार दलहरुको गठबन्धनलाई पछि पञ्चेश्वरमा एमालेका चन्द निर्वाचित


काठमाडौं, १ जेठ ।  बैतडीको पञ्चेश्वर गाउँपालिकामा एमालेले जित निकालेको छ । सत्तासाझेदार दलहरुको गठबन्धनलाई पछि पार्दै पञ्चेश्वरमा एमालेले जित हासिल गरेको हो । अध्यक्षमा एमालेका गोरखबहादुर चन्द ३७ सय ८२ मतका साथ विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रमेशसिंह भण्डारीले २४ सय ८८ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा पनि एमालेकै विना भट्टले ३ हजार ६४ मतका साथ जित गर्नुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका राजेन्द्रबहादुर चन्दले २५ सय मत पाउनुभयो। पहिलो स्थानीय तहको चुनावमा पनि चन्द र भट्टले नै विजयी हुनुभएको थियो । ६ वडा रहेको पञ्चेश्वरको वडा नम्बर १ मा माओवादीका देवानीराम सार्की विजयी हुनुभएको छ ।

वडा नम्बर २ को अध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएको छ । माओवादी केन्द्रबाट गठबन्धनका उम्मेदवार बनेका विरेन्द्रबहादुर चन्द विजयी हुनुभएको छ । यस्तै, वडा नम्बर ३ मा एमालेका मीनबहादुर चन्दले जित हासिल गनुभएको छ । वडा नम्बर ४ मा एमालेका जनकबहादुर चन्दले जित्नुभएको छ । वडा नम्बर ५ मा कांग्रेसका नरेश चन्दले जित्नुभएको छ भने वडा नम्बर ६ मा एमालेका रामसिंह पुजारा विजयी हुनुभएको छ।