जनता टाइम्स

२ जेष्ठ २०७९, सोमबार ०८:०२

तेह्रथुम म्याङलुङ नगरपालिकाको मेयरमा एमालेका तुम्बाहाङ्फे विजयी


काठमाडौं, जेठ २ । तेह्रथुमको म्याङलुङ नगरपालिकाको मेयरमा नेकपा एमालेका सञ्जयकुमार तुम्बाहाङ्फे विजयी हुनुभएको छ। सोमबार बिहान सार्वजनिक मत परिणाममा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनबहादुर तुम्बाहाङ्फेलाई पराजित गर्दै सञ्जयकुमार मेयर निर्वाचित हुनुभएको हो ।

मेयरमा निर्वाचित तुम्बाहाङ्फेले ५ हजार ११७ मत प्राप्त गर्नुभएको छ। कांग्रेसका उम्मेदवारले ४ हजार ४७८ मतमात्रै प्राप्त गर्नुभएको छ । उपमेयरमा पनि एमालेकै जमुनादेवी सुवेदी निर्वाचित हुनुभएको छ। उहाँले ५ हजार २१० मत पाउनुभएको छ । निकटतम प्रतिस्पर्धी कांग्रेसकी पार्वती सानु डाँगीले ४ हजार ४१४ मत पाएको मुख्य निर्वाचन अधिकृत महेन्द्रप्रसाद पोखरेलले जानकारी दिनुभयो । मेयरमा विजयी संजय कुमार निवर्तमान नगर प्रमुख हुनुहुन्छ । एमालेसँग पराजित डाँगी पनि निवर्तमान उपप्रमुख हुनुहुन्छ ।

एमालेले उपमेयरको टिकट नदिएपछि डाँगी मनोनयन दर्ताको अघिल्लो दिन नेकपा एसमा प्रवेश गर्नुभएको थियो । लगत्तै गठवन्धनको तर्फबाट रुख चिन्हमा कांग्रेसले डाँगीलाई उपप्रमुखको टिकट दिएर मनोनयन दर्ता गराएको थियो ।