जनता टाइम्स

२ जेष्ठ २०७९, सोमबार ०८:१७

गठबन्धनलाई धुलो चटाउँदै पाल्पाको तिनाउमा एमालेका श्रेष्ठ विजयी 


पाल्पा, जेठ २ । पाल्पाको तिनाउ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रेम श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठ कुल खसेको १० हजार ३१६ मतमध्ये ५ हजार ९० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका राजेश श्रेष्ठले ४ हजार ४ सय ६६ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका लालबहादुर थापा विजयी हुनुभएको छ । थापाले ५ हजार ८२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सावित्रा गुरुङ रानाले ४ हजार ४ सय ६५ मत प्राप्त गर्नुभयो ।

२०७४ सालको निर्वाचनमा तिनाउ गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो । यसपटक गठबन्धनबाट उम्मेदवारी दिएपनि कांग्रेसभित्रको असन्तुष्टहरुलाई मिलाउन सकेका थिएनन् । टिकट वितरणमा असन्तुष्टि जनाउँदै पालिकाका कांग्रेस सभापति प्रेम पाण्डेयसहित सबै पदाधिकारी, वडा सभापति लगायतले राजीनामा बुझाउनु भएको थियो ।

तिनाउ गाउँपालिकाको वडाध्यक्षमा १ मा एमालेबाट भुवानसिंह चिदी, २ बाट यादव अर्याल, ३ बाट चित्रबहादुर थापा ४ बाट तुलबहादुर आले ५ बाट इन्द्रा चिदी र ६ वडाबाट टोमबहादुर पुन विजयी हुनुभएको छ । यस्तै ३ का थापा र ६ का पुन कांग्रेस उम्मेदवार हुन । अन्य वडाका सबै एमालेबाट निर्वाचित भएका हुन् ।