जनता टाइम्स

२ जेष्ठ २०७९, सोमबार १७:०५

तनहुँको घिरिङ गाउँपालिकामा गठबन्धनलाई हराउदै एमालेको जित


तनहुँ, २ जेठ । तनहुँको घिरिङ गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै एमालेका होमबहादुर थापा अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँले चार हजार ३३१ मत पाउनुभएको छ। सत्ता गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेद्वार बनेका कांग्रेसका गंगाराम कुमाल ७७७ मतान्तरले पराजित हुनुभयो । कुमालले तीन हजार ५५४ मत पाउनुभयो । उपाध्यक्षमा पनि एमालेकी राधादेवी अधिकारी फराकिलो मतान्तर विजयी हुनुभएको छ । उहाँले एकीकृत समाजवादीका पूर्णबहादुर थापालाई एक हजार ७३४ मतले पराजित गर्नुभयो । अधिकारीले चार हजार ४८१ र थापाले दुई हजार ७४७ मत पाउनुभएको छ । घिरिङमा शुक्रबार भएको मतदानमा ५९ . ४० प्रतिशत मत खसेको थियो ।

१४ हजार ६७६ मतदाता रहेको घिरिङ गाउँपालिकामा आठ हजार ७१७ मतदाता मतदानमा सहभागी भएका थिए। यहाँ एमाले भर्सेस कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धन थियो । वडातर्फ १ र ५ मा कांग्रेस विजयी भएको छ । बाँकी तीन वडामा एमालेका उम्मेद्वार विजयी भएका छन् । घिरिङ गाउँपालिका–१ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा रवीचन्द्र घोरासिनी एक हजार १२८ मत प्राप्त गरी विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी एमालेका विष्णुप्रसाद ढकालले ९१२ मत प्राप्त गर्नुभयो ।

घिरिङ–२ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका नरबहादुर थापा एक हजार १७ मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिस्पर्धी कांग्रेसका विष्णुवीर थापाले ५७ मत प्राप्त गर्नुभयो् । वडा नम्बर ३ मा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा तहलसिं थापाले ८४१ मत प्राप्त गर्दा प्रतिस्पर्धी माओवादी केन्द्रका चुननारायण श्रेष्ठले ४५५ मत पाउनुभयो । वडा नम्बर ४ मा पनि एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा भीमबहादुर कुमालले ८६६ मत प्राप्त गरी विजयी हुँदा निकटम प्रतिष्पर्धी कांग्रेसका वीरबहादुर थापाले ६३६ मत प्राप्त गर्नुभयो । वडा नम्बर ५ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा कांग्रेसका विष्णुवीर आले ८९० मत ल्याएर विजयी हुँदा एमालेका जसमान थापाले ७८७ मत पाउनुभयो । अघिल्लो निर्वाचनमा पनि कांग्रेसले यिनै दुई वडा जितेको थियो ।