जनता टाइम्स

२ जेष्ठ २०७९, सोमबार १९:०९

गठबन्धनलाई परास्त गर्दै दार्चुलाको शैल्यशिखर नगरपालिकामा एमालेको सानदार जीत


दार्चुला, जेठ २ । दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुख सहित ८ वडामा जित हासिल गरेको छ । मेयरमा विजयसिह धामी र उपमेयरमा शान्ती खडायत निर्वाचित हुनुभएको हो ।

एमाले उम्मेदवार विजयसिंह धामीले ५ हजार ५ सय ४९ मत ल्याउदै नगरप्रमुख पदमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्धन्दी नेपाली काग्रेसका अमरसिह धामीले ४ हजार ६ सय ४७ मत पाउनु भएको छ । एमालेका धामीले कांग्रेशका उम्मेदवार अमरसिंह धामीलाई ९ सय २ मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको हो । उपप्रमुखमा एमालेका उम्मेदवार शान्ति खडायतले ५ हजार ६ सय ७५ मत ल्याउदै कांग्रेश उम्मेदवार राजमती बम पाललाई १ हजार १ सय मतान्तरले पराजित गर्दै विजयी हुनभएको छ ।

कांग्रेस उम्मेदवार पालले ४ हजार ५ सय ७५ मत प्राप्त गरेको शैल्यशिखर नगरपालिका निर्वाचन अधिकृत हरिसिह धामीले जानकारी दिनुभयो । ९ वडा रहेको शैल्यशिखरमा वडा नम्बर ६ बाहेक सबै वडामा एमाले उम्मेदवार विजयी भएका छन् ।  वडा नम्बर ६ मा कांग्रेसका जगदिश धामी निर्वाचित हुनुभएको छ । वडा नम्बर १ मा भरतबहादुर खडायत, वडा नम्बर २ मा नरेन्द्र पाल,वडा नम्बर ३ मा पदम बहादुर चन्द, वडा नम्बर ४ मा रामसिंह ठगुन्ना, वडा नम्बर ५ मा जनक डागा, वडा नम्बर ७ मा पुष्पराज जोशी, वडा नम्बर ८ मा केशवदत्त जोशी र वडा नम्बर ९ मा प्रजावती पाण्डे एमालेबाट वडाअध्यक्षमा निर्वाचित हुनुभएको हो ।

शैल्यशिखर नगरपालिकामा पनि कांग्रेस र माओबादी केन्द्रले गठबन्धन गरेका थिए । गठबन्धनका उम्मेदवारहरुलाई पराजित गर्दै जित हासिल गर्नुलाई शैल्यशिखर एमालेले उपलब्धीका रुपमा लिएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले जित हासिल गरेको शैल्यशिखरमा नेकपा एमाले सानदार ढंगले जित हासिल गरेको हो।