चितवन, जेठ ३ । माडी नगरपालिकाको मेयरमा नेकपा एमालेकी ताराकुमारी काजी महतो निर्वाचित हुनुभएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका ऋषि काफ्लेलाई दुई हजार एक सय ७२ मतान्तरले पराजित गर्दै ताराकाजी बिजयी हुनुभएको हो ।
मेयरमा निर्वाचित महतोले ९ हजार ९ सय १ मत प्राप्त गर्नुभएको छ भने पराजीत काफ्लेले जम्मा ७ हजार सात सय २९ मत मात्रै प्राप्त गर्नुभयो । मेयर र उपमेयर पदमा एमाले र राप्रपाले तालमेल गरेका थिए । उपमेयरमा भने कांग्रेसका खेम महतोले ६ हजार आठ सय ३० मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी राप्रपाका मदन पौडेलले पाँच हजार एक सय ४० र स्वतन्त्र उमेदवार कृष्ण पौडेलले तीन हजार ८६ मत पाउनु भएको छ । माडी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र हो । पाँच दलीय गठबन्धन गरेर चुनावमा भिडदा पनि एमाले उम्मेदवार ताराकाजीसँग गठबन्धन पराजीत भएको हो ।
एक कार्यकाल उपमेयर भएर काम गर्नुभएकी ताराकाजी महतो शालिन र लोकप्रिय नेतृ हुनुहुन्छ । विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै राजनीतिमा प्रवेश गर्नुभएकी महतो माडीका विभिन्न वडामा १२ वर्ष वडा सचिव र पाँच वर्ष उपमेयर भएर काम गर्नुभएको छ । माडीमा लोकप्रिय मानिने महतो, यहाँका आदिवासी, महिला, दलित, अल्पसङ्ख्यकलगायत माडीवासीको समस्या र पीडाको बारेमा जानकारी राख्नुहुन्छ ।

सरल, मिठो बोली र सबैको कुरा ध्यानपूर्वक सुन्ने, सहमति र समन्वयबाट विकासका काम गर्नुपर्छ भन्ने मान्यता उहाँमा रहेको छ । लगातार रुपमा वडा अध्यक्ष पद गुमाउँदै गएको एमालेले अन्तिम चरणमा मेयर र वडा नम्बर ६ मा जित हात पारेको हो । वडा नम्बर ६ मा एमालेका दीपेन्द्रराज पौडेल निर्वाचित हुनुभएको छ । माओवादी केन्द्रले माडी–२, ४, ५ र ९, राप्रपाले माडी–१ र ८ र एकीकृत समाजवादीले माडी–३ र ७ मा विजय हात पारेको हो ।













प्रतिक्रिया दिनुहोस्