जनता टाइम्स

३ जेष्ठ २०७९, मंगलवार १९:०१

रामचन्द्रको गाउँमा कुटिएका जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमै पुगे एमाले महासचिव


काठमाडौं, जेठ ३ । नेकपा एमालेका महासचिव शंकर पोखरेल कांग्रेस बरिष्ठ नेता स्थानीय तह निर्वाचनको दिन कांग्रेस कार्यकर्ताको आक्रमणमा परी गम्भीर घाइते हुनुभएका ब्यास नगरपालिकाका मेयरका उम्मेदवार दिपकराज जोशीलाई भेटन अस्पताल पुग्नुभएको छ । निर्वाचनको क्रममा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँमा मेयरका उम्मेदवार जोशीमाथि ज्यान लिने उदेश्यका साथ आक्रमण भएको थियो ।

चुनावको दिन आक्रमणमा परी घाइते हुनुभएका जोशीको हाल पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको छ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोबिन्दराज जोशी समुहे तनहुँमा गरेको बिद्रोहपछि एमालेसँग तालेल गरी सूर्य चिन्ह लिएर मेयरको उम्मेदवार बन्नुभएका जोशीको स्वास्थ्य अवस्था बुझ्न एमाले महासचिव पोखरेल अस्पताल पुग्नुभएको हो ।

अस्पतालमा महासचिव पोखरेलसँगै उपमहासचिव बिष्णु रिमाल, स्थायी कमिटी सदस्य डा. राजन भट्टराई, पोलिटब्यूरो सदस्य पार्वत गुरुङ हुनुहुन्थ्यो । अस्प्ताल पुगेर मासचिव पोखरेलले जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै यस्ता घटनाबाट निरास नहुन र दृढताका साथ जनताको बीचमा गएर सामना गर्दै परास्त गर्न सुझाव दिनुभयो ।

‘राजनीतिमा राम्रा मान्छे नटिकुन भनेर गरिएको हतकण्डा हो तपाईंमाथिको आक्रमण, यसलाई दृढताका साथ सामना गरेर जनताको बलमा परास्त गर्नुपर्छ, हामी सवै तपाईंको साथमा छौं, निरास नहुनोस,’ घाइते जोशीलाई महासचिव पोखरेलले भन्नुभयो । अस्पतालमा स्वास्थ्यलाम गरिरहनु भएका जोशीले पनि यस्ता घटनाबाट आफू बिचलित नहुने बताउनु भयो । ‘सामना गर्न भनेरै आएको हो अमेरिका छाडेर, अव पनि दृढताका साथ सामना गरिन्छ,’ जोशीले भन्नुभयो ।

रामचन्द्र पौडेलको जन्मगाउँ तनहुको व्यास नगरपालिका–८, रिस्तीमा चुनावको दिन जोशीमाथि आक्रमण भएको थियो । सो वडाको मतदान केन्द्र (ख)मा निर्वाचन स्वच्छ र निष्पक्ष नभएपछि एमाले र जोशी समुहले बिरोध गरेको थियो । एउटै व्यक्तिले सहयोगीको बाहानामा पटक–पटक एकलौटीरुपमा मत हालेपछि असन्तुष्टि जनाएर बाहिरिए पछि केही बेर मतदान रोकिएको थियो । मतदान चलिरहेको अवस्थामा दिउँसो ३ बजेतिर एमालेको तर्फका उम्मेदवार दिपकराज जोशी मतदान केन्द्र आएर कर्मचारीसँग किन यस्तो एकपक्षीय भयो भन्दै प्रश्न गर्दा गदै जोशीले प्रश्न गर्दा एक्कासी आक्रमण भएको थियो ।

आक्रमणबाट जोशीको टाउको र जिउमा चोट लागेको थियो । मेयरका उम्मेदवार जोशीले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँमा आफूलाई मार्ने योजनासहित आक्रमण भएको बताउनु हुन्छ । सो घटनापछि ब्यास नगरपालिकाको दुई मतदान केन्द्रमा चुनाव स्थगित भएको छ । सो निर्वाचन बुधवार हुँदैछ ।

बैशाख ३० गते भएको सो घटनाबारे गृहमन्त्री बालकृष्ण खाँणले कुनै सुनुवाई नगरेको र बचाउन प्रहरीलाई निर्देशन पनि नदिएपछि जोशीले अस्पतालबाटै गृहमन्त्री खाँणलाई पत्र लेख्नुभएको थियो ।

जुन पत्र यसप्रकार रहेको छ :

तपाईं सन्चै हुनुहुन्छ होला । तर म यतिबेला फ्रन्टलाइन अस्पतालको आईसीयु बेड नम्बर १ मा छु । तपाईंलाई गृहमन्त्री भनेर सम्बोधन गर्न मन लागेन किनकि मैले तपाईंलाई दाइको नाताले चिनेको हुँ र गृहमन्त्री भनेर सम्बोधन गर्दा दाइको नाता फितलो हुन्छ जस्तो लाग्यो । र, अर्को कुरा सायद तपाईं दाइ नै भएको भए मेरो हत्या हुन लाग्दा बचाउने कोसिस गर्नुहुन्थ्यो होला । तर गृहमन्त्रीको हैसियतलाई दाइको नाताले जित्न नसक्ने रहेछ। म सायद भाग्यमानी थिएँ, त्यसैले आज तपाईंलाई यो पत्र लेख्न सक्षम नै छु। मैले राजनितीमा प्रवेश गर्नुमा तपाईंको ठूलो हात छ किनकि एउटा स्वच्छ छवि भएको राजनीतिज्ञ भनेर मैले सम्झने नामहरुमा तपाईंको नाम सदैव आउँथ्यो । तर, आज दाइको राजनीति अलि फरक भएको महसुस गरेको छु ।

यो तपाईंले शान्ति सुरक्षा धानिरहेको व्यवस्था हो र यही व्यवस्थामा तपाईंको भाइमात्र नभएर एउटा स्वतन्त्र रुपमा राजनीतिमा प्रवेश गर्न लागेको युवाको हत्या प्रयास भएको छ । जुन कुरा कतिको जायज हो ? कतिको न्यायोचित हो र कतिको बर्बरतापूर्ण समयको प्रतिनिधि घटना हो ? तपाईं आफै बुझ्नुहुन्छ । रामचन्द्र पौडेलको गाउँमा मेरो हत्या प्रयास हुँदासम्म न त्यो रोकियो न त मलाई त्यहाँबाट छिटो निकाल्ने प्रयास नै भयो । उल्टो सीडीओ, पुलिसलगायतका विपक्षका थुप्रै मिलेर दीपकराज जोशीले मतपत्र च्यात्यो भन्ने जस्तो गम्भीर आरोप मलाई लाग्यो‌ ।

म एउटा स्वतन्त्र उम्मेदवार न हुँ । के नै फरक पर्थ्यो र मैले चुनाव जित्दैमा या हार्दैमा ? मैले सम्पूर्ण बुथमा आफ्नो उपस्थिति जनाउने मनसायले अन्य बुथमा गएसरह उक्त बुथमा अर्थात् व्यास नगरपालिकाको रिस्तीमा पनि सामान्य तवरले नै उपस्थिति जनाउनमात्र गएको थिएँ । झगडाकै मनसायले गएको भए आइलाग्नेमाथि जाइलाग्ने भन्ने कुराको हेक्का राखेरै जान्थेँ होला । हुन त म बदलामा विश्वास नगर्ने मान्छे हुँ । तर पनि आफ्नो सुरक्षा व्यवस्था गरेर जानसम्म सोच्थेँ होला । त्यहाँ पुगेर पनि मैले भनेको यतिमात्र हो कि बुथमा सबै पार्टीको एजेन्ट हुनुपर्छ ।
यो कुन शासनकाल हो र यहाँ कसले कसले मात्रै बोल्न मिल्छ रु स्पष्ट पारिदिनुभयो भने त्यहीअनुसारको अनुशरण गर्दै जान्छन् जनताले । होइन भने जायज कुरा बोल्नेबित्तिकै कुटपिट गर्ने र ज्यान मार्ने योजनासहितको आक्रमणले जनमानसमा कुन युगको आभास दिँदैछ ?

दाइ, एउटा कुरामा ढुक्क हुनुस् । म यसकारण राजनीतिमा उदाउँदो तारा बनेर होमिएको हुँ कि मलाई थुप्रै बेथितिले पोलेको छ । हुन त म राजनीति गरेर कुनै पदमा पुग्छु या पुग्दिनँ बेग्लै विषय हो । तर यदि म त्यहाँ पुगेँ भने त्यो समयसम्म तपाईं पूर्वगृहमन्त्री बनिसक्नु हुनेछ । त्यो बेला आज जस्तो घटना हुने छैनन् । तपाईंको सवारीसाधन तोडफोड हुने वातावरण बन्ने छैन । तपाईका छोरीचेली बलात्कारको शिकार हुने छैनन् । तपाईंका छोरानातिको हत्या प्रयास हुने छैन । यो ग्यारेन्टी मेरो भयो । जसरी मेरो उपस्थिति नै मेटाउने दुष्प्रयास हुँदासम्म पनि यो देशको शान्ति सुरक्षामाथि प्रश्न गरिएको छैन, यो स्थिति हामीले अभ्यास गरिरहेको व्यवस्थामा भद्दा मजाकबाहेक केही होइन । हो, हदैसम्मको हिप्पोक्रेसी हो‌ ।

तपाईं सक्षम गृहमन्त्री बन्न सक्नु भयो या भएन, इतिहासले बताउने छ । तर दाइ तपाईं एउटा असल दाइ बन्न सक्नु भएन । भाइको रक्षा गर्न सक्नु भएन । हुन त हामी हिन्दू धर्मको अभ्यास गरेर हुर्केका मान्छे हौँ । कतै न कतै त यसको लेखाजोखा पक्कै हुन्छ होला ।
यतिबेला मेरो स्वास्थ्य अवस्था ठीक छैन, मेरो देशका धरै दाजुभाइको स्वास्थ्य ठीक छैन‌ । तर पनि भाइको नाताले यहाँको सुस्वास्थ्यको कामना गर्दछु ।

दाइ तपाईंलाई तपाईंका बाआमाले बालकृष्ण भनेर नाम दिनु भयो । कृष्णले त केबल मखन चोरेका थिए । बाँकी त उनले जे गरे लोककल्याणकारी काम नै गरे । तर तपाईं गृहमन्त्री हुँदै गर्दा तपाईंकै पार्टीका मान्छेले एउटा वृद्ध बाआमाको कोख रित्याउने प्रयास गर्दासमेत तपाईं कुन मुटु लिएर आनन्दले निदाएर बस्नु भएको थियो ?

जवाफ दिन सक्नुहुन्छ ?

मलाई तपाईंप्रति कुनै आग्रह पूर्वाग्रह छैन र रहँदैन पनि । तर, यतिबेला मभित्र यति धेरै प्रश्नहरु सवाल गरिरहेका छन् कि जसको उत्तर खोज्ने प्रयास गर्दैछु ।

कुनै पनि राज्य व्यवस्थामा पदीय जिम्मेवारी बहन गरिसकेपश्चात मान्छे पदको हुन्छ, मान्छे जनताको हुन्छ न कि पार्टीको । तर तपाईं किन पार्टीको मान्छे बनिरहनु भयो ? तपाईंले बहन गर्ने दायित्वभित्र के तपाईंले टेकेर माथि पुगेको जमिनमात्रै हो ? तपाईंमाथि भएको शान्ति सुरक्षाको जिम्मा क–कसको हकमा लागू हुने हो प्रस्ट पारिदिनु भयो भने मलगायत सम्पूर्ण जनताको कौतुहलता मेटिनेछ ।
उही तपाईंलाई दाइ सम्बोधन गर्ने

दीपकराज जोशी
व्यास नगरपालिका, तनहुँ ।