जनता टाइम्स

३ जेष्ठ २०७९, मंगलवार २१:५७

मोरङको कानेपोखरी गाउँपालिकामा एमालेको जीत, भारी मतान्तरसहित राजमती अध्यक्षमा निर्वाचित


मोरङ, जेठ ३ । मोरङको कानेपोखरी गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष राजमति इङ्गनाम गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ । एमालेकी राजमतिले ३ हजार १ सय २९ मतान्तरले कांग्रेसका सञ्जय भट्टराईलाई पराजित गर्नुभएको हो ।

राजमतिले ८ हजार ९ सय ७५ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी भट्टराईले ५ हजार ८ सय ४६ मत ल्याएको निर्वाचन अधिकृत गणेश नायकले बताउनु भयो । यसैगरी गाउँपालिका उपाध्यक्षमा एमालेकै भोलाप्रसाद अधिकारीले ९ हजार ५ सय ७० मत ल्याएर विजयी हुनुभएको छ । अधिकारीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मनकुमारी गुरुङ्ले ७ हजार ८ सय १८ मत प्राप्त गर्नुभएको छ ।

गाउँपालिकाका ७ वटा वडामध्ये कांग्रेसले २ र एमालेले ५ वटा वडाध्यक्षमा विजयी हात पारेका छन् । वडा १ मा कांग्रेसका रत्नबहादुर कार्कीले १ हजार १ सय ८, वडा २ मा एमालेका शुशिल बुढाथोकीले १ हजार ८ सय ६४, वडा ३ मा एमालेका गोपालबहादुर कार्कीले ७ सय ७५, वडा ४ मा कांग्रेसका रमेश राउत १ हजार ३ सय १४ मत ल्याएर वडाध्यक्षमा विजयी हुनुभएको हो ।

यस्तै, वडा ५ मा एमालेका चरण गुरुङले १ हजार ६ सय २७, वडा ६ मा एमालेका खडगबहादुर बस्नेतले १ हजार ७ सय ४६ र वडा ७ मा एमालेका मोहनप्रसाद अधिकारीले १ हजार २ सय २८ मत ल्याएर विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । २०७४ सालको निर्वाचनमा सो गाउँपालिका अध्यक्षमा एमालेका ताराबहादुर काफ्लेले ६ हजार ५ सय ८८ र उपाध्यक्षमा राजमतिले ७ हजार २९ मत ल्याएर जित्नुभएको थियो ।