लमजुङ, जेठ ५ । लमजुङमा नेकपा एमाले र नेपाली कांग्रेसको बरावरी शक्ति देखिएको छ । दुबै पार्टीले चार चार वटा स्थानीय तहमा जित हासिल गर्दै बरावरी शक्तिका रुपमा स्थापित भएका हुन । सदरमुकामसमेत रहेको बेंसीसहर नगरपालिकामा एमालेका गुमानसिंह अर्याल पुनः निर्वाचित हुनुभएको छ भने उपमेयरमा पद्मा गुरुङ निर्वाचित हुनुभयो । दुवैजना सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै निर्वाचित हुनुभएको हो ।
गुमानसिंहले यसपटक सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका श्रीकान्त घिमिरेलाई २ हजार ८ मतले हराउनु भएको हो । अर्यालले ९ हजार ४ सय ७९ मत पाउनु भएको छ । यस्तै सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका हरिजंग तामाङलाई ४ हजार १५ मतले हराउनु भएकी पदमाले ८ हजार ७ सय १४ मत पाउनुभएको छ । श्रीकान्तले ७ हजार ४ सय ७१ मत पाउनु भएको छ भने हरिजंगले ४ हजार ६ सय ९९ मत पाउनु भएको छ । गठबन्धनबाट असन्तुष्ट बागी उम्मेदवार कांग्रेसका जीवनकुमार श्रेष्ठले उपप्रमुखमा १ हजार ६ सय १५ मत पाउनु भएको छ ।
राइनास नगरपालिका मेयरमा कांग्रेसका खड्गबहादुर गुरुङ विजयी हुनुभएको छ । उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार पुष्पराज खनाल विजयी हुनुभयो । गुरुङले ५ हजार ८ सय २६ मत ल्याउनुभएको छ । प्रतिद्वन्द्वी एमालेका सिंहबहादुर थापाले ४ हजार २ सय ४४ मत पाउनु भयो । ५ वर्ष राइनास नगरपालिका मेयर रहेका सिंहबहादुरलाई यसपटक खड्गबहादुरले हराउनु भएको छ ।
उपमेयरमा निर्वाचित खनालले ५ हजार ८ सय ८६ मत पाउनु भएको छ भने प्रतिद्वन्द्वी एमालेकी शोभा पन्थीले ३ हजार २ सय ३४ मत ल्याउनु भएको छ ।
सुन्दरबजार नगरपालिका मेयरमा कांग्रेसका कृष्णप्रसाद कोइराला निर्वाचित हुनुभएको छ । उपमेयरमा भने एमालेकी भवानी केसी निर्वाचित हुनुभयो । विजयी कोइरालाले ६ हजार ६ सय ४१ मत ल्याउँदा निकटम प्रतिस्पर्धी एमालेका भीमबहादुर गुरुङ ६ हजार ३६ मत पाउनु भयो । एमालेका भवानी केसीले ५ हजार १८ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार द्वारिकाप्रसाद मिश्रले ४ हजार ४ सय ७५ मत पाउनु भएको छ ।
मध्यनेपाल नगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेसका रमेशकुमार पाण्डे निर्वाचित हुनुभएको छ । एमाले उम्मेदवार राजकुमार श्रेष्ठलाई ३ सय ३७ मतले हराउँदै पाण्डे विजयी हुनुभएको हो । पाण्डेले ६ हजार ५ सय ५२ मत र श्रेष्ठले ६ हजार २ सय १४ मत पाउनु भएको छ । उपमेयरमा एमालेकी सीता गुरुङले सत्ता गठबन्धनका माओवादी केन्द्रका उपेन्द्र अधिकारीलाई १ हजार ३ सय ४२ मत अन्तरले हराउँदै विजयी हुनुभएको छ । सीताले ६ हजार ४ सय १६ मत प्राप्त गरी बिजयी बन्दा माओवादी केन्द्रका उपेन्द्रले ५ हजार ६५ मत पाउनु भयो ।
दोर्दी गाउँपालिकामा सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका लालबहादुर गुरुङलाई हराउँदै एमालेका युवराज अधिकारी अध्यक्षमा निर्वाचित हुनुभएको छ । लालबहादुरलाई ८७ मतअन्तरले हराउँदै आगामी ५ वर्षका लागि दोर्दी गाउँपालिका अध्यक्षमा युवराज निर्वाचित हुनुभएको हो । युवराजले ४ हजार ७ सय ३८ मत ल्याएर बिजयी हुँदा लालबहादुरले ४ हजार ६ सय ५१ मत पाउनु भएको छ । उपाध्यक्षमा गठबन्धन उम्मेदवार, कांग्रेस दोर्दी गाउँपालिका सभापति समेत रहेका विच्छबहादुर घले ४ हजार ९ सय ५८ मतका साथ विजयी हुनुभएको छ । प्रतिद्धन्दी एमालेकी उषा गुरुङले ४ हजार १ सय ९० मत ल्याउनुभयो । विच्छबहादुर र उषाको मत ८ सय ४८ को फरक छ ।
मर्स्याङदी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । गठबन्धनका उम्मेदवारलाई अर्जुन गुरुङ मेयरमा निर्वाचित हुनुभएको हो । यसअघि ५ वर्ष गाउँपालिका अध्यक्षमा रहेका अर्जुन पुनः निर्वाचित हुनुभएको हो । अर्जुनले ६ हजार १ सय ३० मत प्राप्त गर्दा प्रतिद्वन्द्वी कांग्रेसका लोकनाथले ४ हजार ३ सय ६९ मत पाउनु भयो । उपाध्यक्षमा एमालेका जुनामाया थापा ५ हजार ८ सय ९५ मत ल्याएर विजयी हुनुभएको छ । सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अजय तामाङले ४ हजार १० मत ल्याउनु भएको छ ।
क्व्होलासोंथर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै एमालेले जितेको छ । अध्यक्षमा सूर्यप्रसाद गुरुङ ३ हजार ८ सय ५६ मतसहित विजयी हुँदा कांग्रेसका टेकबहादुर गुरुङले २ हजार ४ सय ८९ मत पाउनु भएको छ । उपाध्यक्षमा गमी गुरुङ ३ हजार ९ सय ८९ मत ल्याएर वियजी हुनुभएको छ । कांग्रेसकी सिर्जना गुरुङले २ हजार ३ सय ४० मत पाउनु भएको छ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको गृहपालिका क्व्होलासोंथर गाउँपालिकामा एमालेको प्यानलै विजयी भएको हो ।
दूधपोखरी गाउँपालिकामा गठबन्धन विजयी भएको छ । कांग्रेसका धनप्रसाद गुरुङ ३ हजार ६५ मत ल्याएर अध्यक्षमा निर्वाचित हुनुभएको हो । उपाध्यक्षमा माओवादी केन्द्रका क्षेत्रबहादुर गुरुङ २ हजार ५ सय ६८ मत ल्याएर विजयी हुनुभएको छ । अध्यक्षका प्रतिस्पर्धी एमालेका तेजबहादुर गुरुङले २ हजार २४ मत पाउनु भएको छ । उपाध्यक्षका प्रत्यासी एमालेकी कृष्णमाया गुरुङले १ हजार ७ सय ७४ मत प्राप्त गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्