जनता टाइम्स

५ जेष्ठ २०७९, बिहीबार १४:२२

खेलाडी विदेसिने क्रम रोकिएन्, फुटबलका दुई खेलाडी अष्ट्रेलिया पुगे


काठमाडौं, ५ जेठ । राष्ट्रिय फुटबल टोलीबाट नियमित खेलिरहेका दुई खेलाडी अष्ट्रेलिया पुगेका छन् । इतिहास रच्दै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको टोलीका खेलाडी सुमन लामा र आशिष लामा अष्ट्रेलिया पुगेका हुन् । दुवै खेलाडी सुरूमा अष्ट्रेलियाको मेलवर्नमा हुने प्रतियोगिता खेल्न त्यसतर्फ पुगेका थिए । तर, पछि दुवै खेलाडी सधैँका लागि प्रस्थान गरेका छन् ।

उनीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पनि कुनै जानकारी गराएका छैनन् । यद्यपि, जानुअघि प्रक्रिया पुर्याउन सहयोग भने मागेका थिए । ‘दुई खेलाडी अष्ट्रेलिया पुगेको सम्बन्धमा हामीलाई कुनै आधिकारिक जानकारी छैन ।’ एन्फा महासचिव इन्द्रमान तुलाधरले भन्नुभयो । यता, खेलाडीद्वयले अष्ट्रेलियाको स्थानीय लिग खेल्न पुगेको बताए पनि उनीहरू निकटका साथीहरूले नफर्किने गरि अष्ट्रेलिया गएको बताएका छन् ।

‘सुरुमा खेल्न गएको भनेको मात्रै हो । तर, उनीहरू फकर्ने अवस्थामा छैनन् ।’ स्रोत भन्छ । यसअघि समेत राष्ट्रिय टोलीका एलन न्यौपाने र हेमन गुरुङ शीर्ष डिभिजन लिग चल्दा अष्ट्रेलियामा प्रतियोगिता खेल्न पुगेका थिए । एलन च्यालसमा आवद्ध थिए भने हेमन मछिन्द्र फुटबल क्लबसँग जोडिएका थिए । तर, दुवै खेलाडी नेपाल फर्किएका छैनन् । स्रोतका अनुसार दुवै खेलाडी नेपालमा भविष्य नदेखेको र निरन्तर प्रतियोगिता नहुँदा अष्ट्रेलिया पुगेका हुन् ।

‘निरन्तर प्रतियोगिता छैन । कहिले के विवाद कहिले के, त्यसबाट खेलाडी हैरान छन् । जाँदा पनि निकै भावुक थिए ।’ स्रोत भन्छ । स्विडिस प्रशिक्षक योहान कालिनको प्रशिक्षणमा आशिषले राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । आशिष सशस्त्र प्रहरी बल एपिएफको जागिरे समेत हुन् । उनी एपिएफ फुटबल क्लबबाट व्यवसायिक फुटबल खेल्छन् । यता, २६ वर्षीय सुमन भने श्रीलंकाविरुद्ध सन् २०१६ मा डेब्यु गरेका हुन् ।

त्यसयता उनी टिममा रहेका छन् । एन्फा एकेडेमीका उनले माल्दिभ्समा भएको साफअन्तर्गत श्रीलंकाविरुद्ध ३–२ को जितमा एक गोल गरेका थिए । ए डिभिजन लिग–०७८ पछि सुमनले नेपाल पुलिसको जागिरबाट राजिनामा दिँदै क्लब छाडेका हुन् । अघिल्लो साता मात्रै न्युरोड टिम एनआरटीबाट व्यवसायिक फुटबल खेलिरहेका गोलरक्षक अजित प्रजापति अष्ट्रेलिया पुगेका छन् । यस्तै यसै महिना वा अर्को महिनामा ए डिभिजन लिग खेलिरहेका र हाल समेत राष्ट्रिय टोलीमा रहेका एक दर्जन खेलाडी अष्ट्रेलिया पलायन हुनेतर्फ रहेको स्रोत बताउँछ ।