जनता टाइम्स

५ जेष्ठ २०७९, बिहीबार १९:१७

भेटिएको मतपेटिकाले बराबरी मत, गोला तान्दा पनि लामा नै विजयी


महोत्तरी, जेठ ५ । बराबरी मत भएपछि बर्दिवास नगरपालिका ८ को वडाध्यक्ष विजेताको घोषणा गोलाबाट गरिएको छ । गोलाप्रथामा नेकपा माओवादी केन्द्रका उम्मेदवार शम्शेरसिं लामा विजयी घोषित गरिएको छ । जेठ १ गतेमै सो वडाको मतगणना सम्पन्न भएर लामा विजयी भएको घोषणा निर्वाचन आयोगले गरेको थियो ।

लामाका निकटतम प्रतिद्वन्द्वी एमालेका रुद्र किङरिङले ७ सय ४४ मत प्राप्त गर्नुभएको थियो । तर बिहीबार गणना नभएको एउटा मतपेटिका भेटिएको थियो । त्यसमा रहेको ८४ वटा मत गणना हुँदा लामा र किङरिङको बराबरी मत आएको थियो ।

लामा र किङरिङ दुबैले ७ सय ६६ मत ल्याए। त्यसपछि वडाध्यक्ष विजयी घोषणा गर्न गोला तान्न लगाएको थियो । किङमिङले गोला तान्दा नपरेपछि लामा पुनः विजयी भएको घोषणा गरिएको हो । लामा भने मतदान गणनास्थलमा उपस्थित हुनुभएको थिएन ।