दोलखा, जेठ ६ । दोलखाको भिमेश्वर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । गठबन्धनबाट भिमेश्वर नगरपालिकाको मेयरका उम्मेदवार नेपाली कांग्रेसका ईश्वरनाथ मानन्धर निर्वाचित हुनुभएको हो ।
माधनन्धरले ८ हजार ७ सय २३ मत प्राप्त गरी विजय हुनुभयो । उहाँका प्रतिद्वन्द्वी एमालेका हरिवंश चौलागाईं १ हजार ४ सय २२ मत अन्तरले पराजित हुनुभएको छ । चौलागाईंले ७ हजार ३ सय १ मत प्राप्त गर्नुभएको छ । यसैगरी उपमेयरमा भने एमालेले गठबन्धनबाट एकीकृत नेकपा समाजवादीकी उम्मेदवार संगीता तामाङलाई पराजीत गर्दै एमालेकी कमला बस्नेत बिजयी हुनुभएको छ ।
बस्नेत ७ हजार २ सय ६४ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उम्मेदवार संगीता तामाङले ६ हजार ९ सय २१ मत पाउनु भएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा भिमेश्वर नगरपालिकाको मेयरमा एमालेका भरत केसी निर्वाचित हुनुभएको थियो । केसीले कांग्रेसका मानन्धरलाई नै पराजित गर्नुभएको हो । मानन्धर यसपटक भने निर्वाचित हुन सफल हुनुभएको छ । उपमेयरमा निर्वाचित कमला यसअघि पनि उपमेयरमै निर्वाचित हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्