जनता टाइम्स

६ जेष्ठ २०७९, शुक्रबार १६:४६

रौतहटमा मतपेटिका लुटेर भाग्ने पूर्व प्रहरी हवल्दार पक्राउ


काठमाडौं, ६ जेठ । ३० गते मतपेटिका लुटेर भागेका मुख्य आरोपी पक्राउ परेका छन्। पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका–२ का ४६ वर्षीय चन्देश्वर बैठा रहेका छन। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार यमुनामाई(२स्थित श्री मावि भेडियाही स्कुलमा मतदान स्थगित भएपछि मानिसहरूको हुल आएर जबरजस्ती प्रवेश गरी मतपेटिका लुटेर भागिएको थियो।

प्रहरीले हवाई फायर गरेपछि मतपेटिका लुटेर भागेका बैठाले मतपेटिका छाडेर भागेका थिए। घटनापछि उनी फरार रहेका थिए। प्रहरीका अनुसार उनी पूर्व प्रहरी हवल्दार समेत हुन्। १७ वर्ष प्रहरीमा काम गरेका बैठाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत हुँदा लागुऔषध तस्करी गरेको पाएपछि निलम्बनमा परेका थिए।