जनता टाइम्स

६ जेष्ठ २०७९, शुक्रबार १९:३२

गठबन्धनको चक्रब्युँह तोडेर एमालेले कांग्रेसबाट खोस्यो कलैया उपमहानगर, मेयर–उपमेयर दुवै पदमा विजयी


बारा, जेठ ५ । नेकपा एमालेले बारास्थित कलैया उपमहानगरपालिकाको मेयर-उपमेयर दुवै पदमा विजय हाँसिल गरेको छ।सत्ता गठबन्धनलाई पराजित गर्दै एमालेले २०७४ को परिणाम उल्ट्याएको हो।

निर्वाचन आयोगले भर्खरै सार्वजनिक गरेको नतिजाअनुसार उपमहानगरको मेयरमा एमालेका विनोदप्रसाद साह २३ हजार १६१ मतसहित विजयी हुनुभएको छ ।

त्यसैगरी उपमेयरमा पनि नेकपा एमालेकै रौशन परविन १८ हजार २५९ मतसहित विजयी हुनुभएको छ ।

कलैयामा मेयरमा एमालेका साहले कांग्रेसका राजेशप्रसाद यादवलाई पराजित गर्नुभएको हो । यादवले १७ हजार ७३३ मत ल्याउनूर भएको छ । त्यसैगरी उपमेयरमा पराजित जनता समाजवादी पार्टीका उम्मेदवार प्रमोदप्रसाद गुप्ताले १७ हजार ५१४ मत पाउनुभएको छ ।

कलैयामा एमालेविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहित चार दलको गठबन्धन थियो । गठबन्धनबाट मेयरमा कांग्रेसका राजेशराय यादव र उपमेयरमा जनता समाजवादीका नेता एवम् संविधानसभा सदस्य प्रमोदप्रसाद गुप्ता उम्मेदवार हुनुहुँथ्यो ।

यहाँका २७ वटा वडामध्ये एमालेले नौवटा वडामा जित दर्ता गराएको छ। त्यसैगरी एकीकृत समाजवादी पार्टीले यहाँ एउटा वडामा जित निकालेको छ।