जनता टाइम्स

६ जेष्ठ २०७९, शुक्रबार २३:०६

हावाहुरीले रुख, बस र पोल ढाल्यो, तीनको मृत्यु


चितवन, ६ जेठ । हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान गएको छ । भरतपुर–११ को भोजाडमा अटोमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १ जनाको च्यापिएर ज्यान गएको छ । वर्षासहित आएको हावाहुरीले अटो र म्याजिकमाथि रुख ढल्दा सो दुर्घटना भएको हो ।चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले मृतकको पहिचान हुन नसकेको बताउनुभयो।

यस्तै विद्युतका पोल र रुखहरु ढल्दा चितवनका विभिन्न सडकहरु अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, नारायणगढ, आपँटारी, क्यान्सरगेट, चितवन मेडिकल कलेज लगायतका स्थानमा रुख र विद्युत पोल ढल्दा सडक अवरुद्ध बनेको हो ।अहिले रुखहरु हटाएर सडक सञ्चालन गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा प्रमुख धर्म अधिकारीले जानकारी दिनुभयो । विद्युत सेवा अवरुद्ध भएर अध्यारो हुँदा क्षतिको विवरण संकलन गर्न नसकिएको उहाँले बताउनुभयो। घरहरुको छचाना उडाउनुका साथै रुख, बस तथा विजुलीका पोलहरु ढालेको छ ।

भरतपुर पुलमा रोकिराखेको गाडीसमेत हावाहुरीले ढालेको छ । त्यस्तै पोलहरु ढल्दा नारायणी किनारमा पुगेको छ । अहिले चितवन क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ ।त्यस्तै कैलालीमा गुडिरहेको बसमाथि रुख ढल्दा पाँच यात्रु घाइते भएका छन् । लम्कीचुहा नगरपालिका –८ गप्कामा गुडिरहेको बसमाथि रुख ढल्दा बसमा सवार पाँच जना यात्रु घाइते भएका हुन् ।हावाहुरीका कारण से १ ख १८०६ नम्बरको बसमा एक्कासी रुख ढलेको हो । रुख ढलेपछि बसमा क्षति पुगेको छ भने घाइते यात्रुहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ । रुख ढलेर विद्युत तारमा पनि क्षति पुगेको छ । सो क्षेत्रमा विद्युत अवरुद्ध भएको छ ।