जनता टाइम्स

७ जेष्ठ २०७९, शनिबार ०९:०१

विराटनगरमा ९ वटा वडाध्यक्ष एमालेले जित्दा माओवादी केन्द्र नील


विराटनगर, ७ जेठ । । मोरङको विराटनगर महानगरपालिकाका ९ वडा एमालेले जित्दा नेकपा माओवादी वडामा नील अर्थात शुन्य विजयी भएको छ ।शनिबार भर्खरै सबै वडासहित महानगर प्रमुख तथा उपप्रमुखको नतिजा आइसकेको छ ।वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले वडा नं १, २, ३, ४, ८, १०, ११, १४ र १९ का वडाध्यक्षमा विजयी भएको छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार ५, ६, ७ ९, १५, र १६ वडाको अध्यक्षमा विजयी भएका छन् ।

यसैगरी जनता समाजवादी पार्टीले वडा नं १२ र १७, राप्रपा १३ र स्वतन्त्र १८ को वडाध्यक्षमा निर्वाचित भएका छन् ।विराटनगरको प्रमुखमा पदमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरी विजयी हुनुभएको छ ।प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उहाँका निकटतम प्रतिस्पर्धीमा नेकपा एमालेका सागर थापाले २१ हजार ४५५ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा नेकपा एमालेका शिल्पा निरौला कार्कीले २५ हजार ६८० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले १४ हजार २१९ मत प्राप्त गर्नुभएको छ ।