जनता टाइम्स

७ जेष्ठ २०७९, शनिबार १३:३४

एमालेको जनमत घटेन : सचिव अर्याल


काठमाडौं, जेठ ७ । नेकपा एमालेकी सचिव पद्‍मा अर्यालले पार्टीको जनमत नघटेको बताउनु भएको छ । स्थानीय तह निर्वाचनले एमालेको जनमत नघटेको यकिन भएको सचिव अर्यालको भनाई छ ।

अर्यालले सिट सङ्ख्या भने पाँच दल गठबन्धन भएर एमालेविरुद्ध लड्दा स्वाभाविक रूपमा केही घटेको पनि बताउनु भयो । ‘गठबन्धन भएर लडेपछि पाँच दलको जनमत यकिन हुन सक्दैन । सबै दल आ–आफ्नै धरातलमा उभिएको भए कसको कति जनमत भन्ने नाप्न सकिन्थ्यो तर एमाले भने एक्लै लड्यो र जनमत निर्धारण भयो । यसले एमाले कमजोर छैन भन्ने पुष्टि गर्‍यो। तर, स्वाभाविक रूपमा पाँच दल गठबन्धन भएर लड्ना हाम्रो सिट सङ्ख्या केही कम भयो’, सचिव अर्यालले भन्नुभयो ।

पाँच दलले एमालेलाई हराएर कमजोर पार्ने रणनीति लिएको र उक्त रणनीति भने सफल नभएको पनि उहाँले बताउनु भयो । ‘निर्वाचन परिणाम सोचेभन्दा फरक भइरहेको छ । पार्टीले समीक्षा छ गर्छ नै’, अर्यालले भन्नुभयो, ‘तर, के हो भने पाँच दलको योजना त एमालेलाई हराउने र कमजोर बनाउने भन्‍ने थियो । त्यो सफल भएन ।’

सचिव अर्यालले एमाले अध्यक्ष केपी शर्मा ओली वाम एकताविरोधी नभएको पनि बताउनु भयो । एजेन्डा मिल्ने र राष्ट्रिय एकताको पक्षधरसँगै एमालेसँग सहकार्य गर्न चाहने शक्तिलाई एकताको ढोका खुला रहेको अर्याल बताउनु भयो ।