जनता टाइम्स

७ जेष्ठ २०७९, शनिबार ००:००

महागठबन्धनले छेक्न सकेन उपमेयरमा एमालेको बिजययात्रा : महानगर–उपमहानगरमा दुईतिहाई जीत निश्चित


काठमाडौं, जेठ ७ । स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगर पालिकाको निर्वाचनमा उपप्रमुखतर्फ एमालेले दुई तिहाई सिट जित्ने अवस्था देखिएको छ । महानगर र उपमहानगरमा प्रमुखमा गठबन्धनतर्फ निकै कमजोर देखिएको एमाले उपप्रमुखमा भने दुई तिहाई स्थानमा बिजयी हुने देखिएको हो ।

६ महानगर र ११ उपमहानगर गरी १७ वटामध्ये १६ ओटा महानगर र उपमहानगरपालिकाका एमालेको उपमेयरमा उम्मेदवार छन । एमालेले भरतपुर महानगरपालिकामा मात्र राप्रपालाई उपमेयर छाडेको छ । अहिलेसम्म परिणाम आउँदा एमालेले मोरङको विराटनगर महानगरपालिकासहित दाङको घोराही, बाराको कलैया र जितपुर सिमरा तथा रुपन्देहीको बुटवल उपमहानगरपालिकामा उपमेयर जितेको छ । बिराटनगर, जितपुर सिमरा र बुटवलमा प्रमुख गुमाए पनि उपप्रमुखमा एमाले बिजयी भएको हो । उपमेयर जितेकोमध्ये कलैया र घोराहीमा एमालेले मेयर पनि जितेको छ ।

हालसम्म परिणाम सार्वजनिक भएमा महानगर र उपमहानगरमध्ये मतगणना जारी रहेका महानगरपालिकामध्ये काठमाडौंमा सुनिता डंगोल र ललितपुरमा मञ्जली शाक्य फराकिलो मतान्तरसहित विजयनजिक पुगिसक्नु भएको छ । काठमाडौंमा त डंगोल गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठभन्दा तेब्बर बढी मतले अगाडि हुनुहुन्छ ।

पोखरामा समेत शनिबादेखि एमालेकी मञ्जु गुरुङको अग्रता बढेको छ । यस्तै उपमहानगरपालिकातर्फ मतगणना भइरहेका इटहरी र तुलसीपुरमा पनि एमालेका उपमेयर उम्मेदवारको अग्रता बढेको छ । इटहरीकी संगीता चौधरी, तुलसीपुरकी स्यानी चौधरीको अग्रता पनि फराकिलो छ ।